Breaking News

गण्डकी गाउँपालिका आफ्‌नै स्वामित्वको भवनमा

By मनासलु

April 09, 2026

२६ चैत, गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले बुधबार देखि आफ्नै भवनबाट सेवा शुुभारम्भ गरेको छ । वडा नम्बर ६ बन्टारमा नवनिर्मित भवनको उद्घाटनसँगै सेवाको शुुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले भवनको एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस अघि विभिन्न स्थान परिवर्तन गर्दै कहिले कसैको घर कहिले विद्यालय अन्यत्रबाट कार्यालय सञ्चालन गर्दै आउनु परेको अवस्थामा आजदेखि आफ्नै भवनबाट सेवा प्रदान गर्न पाएको बताउनुभयो ।

भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने ब्लु इनर्जी र जग्गा दाता जुन बहादुर गुरुङ र रेशम माया गुरुङलाई धन्यवाद दिनुभयो । साथै यस अघि सम्म गाउँपालिकाको सेवाका लागि कार्यालय सञ्चालनका लागि भवन उपलब्ध गराउँने तामनडाडाँ मावि परिवारलाई धन्यवाद दिनुभयो ।

मन्त्रिपरिषदको निर्णय अनुसार ६० प्रतिशत जनसंख्यालाई सुविधा हुने गरि कार्यालय सारिएको पनि बताउँनुभयो । वडा नम्बर ६ का वडाध्यक्ष तूल बहादुर गुरुङले झण्डै नौ वर्षपछि आफ्नै भवनबाट सेवा गर्न पाएको बताउँनुभयो । लामो समयको विवाद र अवरोधकाबिच आफ्नै भवन निर्माण गर्न सफल भएको बताउँनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत तूलसीराम आचार्यले नागरिकलाई दिने सेवा प्रभावकारी बनाउँन भौतिक संरचना पनि महत्वपूर्ण हुने बताउँनुभयो । यस पालिकाको भवनबाट सेवा प्रदानमा थप प्रभावकारी हुने बताउँनुभयो । सेवालाई प्रभावकारी बनाउँन जनप्रतिनिधि, नागरिक समाज वुद्धिजिवीहरुले पनि साथ दिनुपर्ने बताउँनुभयो । नागरिक र कर्मचारीबिचको अविश्वासले पनि कहिले काही सेवा प्रवाह प्रभावित हुने भन्दै सबैले कर्मचारीलाई थप प्रभावकारी सेवा प्रदान गर्ने वातावरण मिलाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी गाउँपालिकाका पूर्व प्रशासकिय अधिकृत तथा नेपाल सरकारका उपसचिव राकेश गुरुङले यस नयाँ भवनबाट अझै प्रभावकारी र जनमुखी हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी गाउँपालिकाले प्रदान गर्ने जनसेवा प्रभावकारी भएको आफुले प्रतिक्रिया पाएको बताउँनुभयो । आफु गण्डकी गाउँपालिकामा रहँदा प्रमुख प्रशासकिय भवन र वडा कार्यालयको भवन बनाउँन लागि परेको बताउँनुभयो । केही वडाका भवनहरु निर्माण गरेपनि केही अप्ठ्याराका कारण प्रमुख प्रशासकिय भवन भने बनाउँन नसकिएको बताउनुभयो । भवनकाे निर्माण सामाजिक उत्तरदायित्व अन्तर्गत व्लु इनर्जीले ठेकदार मार्फत निर्माण गरिदिएकाे थियाे । स्थानीय मनकारी जुन बहादुर गुरुङ र रेशममाया गुरुङले झण्डै सात राेपनी जग्गा गण्डकी गाउँपालिकाकाे नाममा दान गर्नु भएकाे थियाे । साेही जग्गामा भवन निर्माण भएकाे हाे ।

भवन निर्माण भएसँगै पालिकाकाे सेवा प्रवाहमा सहज हुने भएकाे छ भने पालिका भित्र रहेका नागरिकहरुलाइ समेत सेवा लिन सहज हुने भएकाे छ ।

गाेरखाका ११ पालिका मध्ये केन्द्र र भवन निर्माणकाे विवाद हुँदै आएकाे सिरानचाेक र गण्डकी गाउँपालिकाकाे विवाद सल्टिदै गएकाे छ । सिरानचाेक गाउँपालिकाकाे केन्द्र यस अघि नै चित्रेपाेखरी कायम भएकाे छ । गण्डकी गाउँपालिकाले जनतालाइ पायक पर्ने गरी आफ्ना कामकारवाही अघि बढाएकाे छ । गाेरखाका स्थानीय तहहरु आफैमा समृद्ध बन्ने गतिमा अघि बढेका छन् । यहाँका जनप्रतिनिधिहरु सहमति, सहकार्यबाट समृद्धिमा पुग्ने कुरामा दृढ रहँदै जनताका पक्षमा काम गर्दै आएका छन् ।