४ वैशाख गोरखा । गोरखाका सबै स्थानीय तहले वैशाख ७ गतेदेखि विद्यालयमा पठनपाठन सुरु गर्ने सामूहिक निर्णय गरेका छन् । बिहीबार बसेको पालिका प्रमुखहरूको बैठकले संघीय सरकारले वैशाख २१ गतेदेखि पठनपाठन सुरु गर्न भने पनि पाठ्यक्रमको उद्देश्य पूरा गर्न समय अपुग हुने र माध्यमिक शिक्षाको अधिकार संविधानले स्थानीय तहलाई दिएको हुँदा सो अधिकार प्रयोग गरिएको अजिरकोट गाउँपालिकाका अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।
यसअघि संघीय सरकारले वैशाख १५ गतेदेखि मात्र विद्यालय भर्ना अभियान सुरु गर्न निर्देशन दिएको थियो। जिल्लाका ११ वटा पालिका प्रमुख तथा अध्यक्षहरूको बैठकले उक्त निर्देशनले शैक्षिक रूपमा अन्योल सिर्जना गरेको निष्कर्ष निकाल्दै आफ्नै पूर्वनिर्धारित शैक्षिक क्यालेन्डरअनुसार अघि बढ्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति गोरखाको समन्वयमा बसेको बैठकले शैक्षिक गतिविधि ढिलाइ हुँदा वार्षिक कार्यघण्टा र दिन पूरा गर्न कठिन हुने ठहर गरेको छ। शिक्षा नियमावली, २०५९ अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु भई चैत मसान्तसम्म सञ्चालन हुनुपर्ने व्यवस्था छ ।
साथै विद्यालयले वर्षमा कम्तीमा २२० दिन पठनपाठन गर्नुपर्ने प्रावधान रहेको छ। राष्ट्रिय प्रारूप, २०७६ ले पनि कक्षा १ देखि ३ सम्म ८३२ कार्यघण्टा र कक्षा ४ देखि १२ सम्म १०२४ कार्यघण्टा अध्ययन हुनुपर्ने स्पष्ट मापदण्ड तोकेको छ ।
गोरखाका स्थानीय तहका प्रमुखहरूले संघीय सरकारको ढिलाइका कारण यी मापदण्ड पूरा गर्न समस्या पर्ने बताएका छन् । उनीहरूका अनुसार अभिभावकहरूको माग पनि विद्यालय छिटो सञ्चालन गर्ने पक्षमा रहेकाले वैशाख ७ गतेदेखि नै भर्ना तथा नियमित पठनपाठन सुरु गर्ने निर्णय गरिएको हो ।
यससँगै बैठकले विकास आयोजना सम्बन्धी बजेट रोक्का भएको विषयमा पनि गम्भीर ध्यानाकर्षण गराएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेट रोकिँदा जिल्लामा विभिन्न विकास निर्माणका काम प्रभावित भएको बताइएको छ । स्थानीय तहहरूले उक्त बजेट तत्काल फुकुवा गरी योजनाहरू कार्यान्वयन गर्ने वातावरण मिलाउन संघीय सरकारसँग माग गरेका छन्। गोरखामा हाल दुई नगरपालिका र नौ गाउँपालिका रहेका छन् ।
वाग्मति प्रदेश पछि गण्डकी प्रदेश शिक्षामा दोस्रो स्थानमा रहेको छ । गोरखाको चुमनुब्री गाउँपालिका बाहेकको तथ्याङ्कलाई लिँदा देशैभरीमा गण्डकी प्रदेशको शिक्षा अग्रस्थानमा रहेको छ । सिक्ने र सिकाउने गतिलाई ढिलासूस्ती गर्नुभन्दा पनि समयमै चलाखीपूर्ण तरीकाले सिकाउँदा शिक्षाको विकास हुने शिक्षा सराेकारहरुले बताएका छन् ।