मनोरञ्जन

पवनश्री परियारको नयाँ मर्मस्पर्शी गीत ‘अर्को जुनी’ सार्वजनिक

By मनासलु

May 16, 2026

काठमाडौं । गोर्खा जिल्लाका प्रतिभाशाली लोकदोहोरी गायक पवनश्री परियारको नयाँ मर्मस्पर्शी गीत ‘अर्को जुनी’ सार्वजनिक भएको छ । तेस्रो गोरखातारा तथा गण्डकी लोकताराका उत्कृष्ट गायकसमेत रहेका परियारको उक्त गीत सार्वजनिक भएसँगै दर्शक–श्रोतामाझ चर्चा बटुल्न थालेको छ ।

वियोगान्त प्रेमकथामा आधारित गीतले धेरै दर्शक–श्रोतालाई भावुक बनाइरहेको छ । सामाजिक सञ्जालमा समेत गीतप्रति सकारात्मक प्रतिक्रिया आइरहेका छन् । गीतमा पवनश्री परियारको एकल स्वर रहेको छ भने शब्द तथा लय सन्तोष थापाको रहेको छ । गीतलाई सुनिल परियारले संगीत संयोजन गरेका हुन् भने HBN किस्मतले मिक्सिङ तथा मास्टरिङ गरेका छन् । ‘वान डीबी रेकर्डिङ स्टुडियो’मा रेकर्ड गरिएको गीतलाई राज खड्काले रेकर्ड गरेका हुन् ।

गीतको कथावस्तु सन्तोष थापा र पवनश्री परियारले तयार गरेका हुन् । भिडियो निर्देशन भुपेन्द्र रानाले गरेका छन् भने छायांकन वीरेन्द्र परियारको रहेको छ । भिडियो सम्पादन अनिल बिष्ट प्युठानीले गरेका छन् ।

म्युजिक भिडियोमा पवनश्री परियार स्वयं अभिनयमा देखिएका छन् । उनलाई रिया खड्का, राजकुमार परियार तथा सन्तोष थापाले साथ दिएका छन् ।

भिडियो लिगलिगकोटसहित पालुङटार नगरपालिकाभित्रका विभिन्न धार्मिक, पर्यटकीय तथा ऐतिहासिक स्थलहरूमा छायांकन गरिएको हो । भिडियोले गोरखाको प्राकृतिक सौन्दर्यसँगै स्थानीय कला–संस्कृतिलाई समेत उजागर गरेको छ ।

वि.सं. २०६५/०६६ सालदेखि सांगीतिक क्षेत्रमा सक्रिय पवनश्री परियारले यसअघि ‘पिरतीमा चोटै चोट’, ‘भकारी चोयाले’, ‘लिगलिगकोट डाँडैमा’ लगायतका गीतमार्फत दर्शकको मन जितिसकेका छन् । त्यससँगै उनले दर्जनौं लाइभ दोहोरी प्रस्तुति समेत दिइसकेका छन् । पछिल्लो समय उनी लाइभ दोहोरी क्षेत्रमा निकै सक्रिय देखिन्छन् ।

गोरखा जिल्लाको पालुङटारमा जन्मिएका परियार विभिन्न मेला–महोत्सव तथा देश–विदेशका सांगीतिक कार्यक्रममा समेत व्यस्त रहँदै आएका छन् । नेपालका चर्चित गायिकासँग प्रत्यक्ष दोहोरी गाइसकेका परियार लोकदोहोरी क्षेत्रमा उदीयमान गायकका रूपमा चिनिन थालेका छन् ।

निरन्तरको मेहनत, मौलिक प्रस्तुति र लोकसंस्कृतिप्रतिको समर्पणका कारण उनले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएका छन् । नयाँ गीत ‘अर्को जुनी’ले पनि दर्शक–श्रोताबाट राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।