पर्यटन

पालुङटार स्थित च्याङ्लीकाे भाइरल चाैरमा पूर्वाधारकाे विकासमा नगरपालिकाकाे सक्रियता

By मनासलु

June 24, 2026

गाेरखा । पालुङटार नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण तथा व्यवस्थापन अभियानलाई निरन्तरता दिँदै वडा नं. ७ को वगरस्थित चर्चित भाइरल चौरको नापजाँच तथा सार्वजनिक क्षेत्र छुट्याउने कार्य सम्पन्न गरेको छ।

मर्स्याङ्दी नदीको मनमोहक किनारमा अवस्थित यो रमणीय चौर पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षणको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको छ। सार्वजनिक बिदाका दिन यहाँ दैनिक ४ देखि ५ हजारसम्म तथा अन्य दिनहरूमा समेत ८ देखि ९ सय आन्तरिक पर्यटकहरूको आगमन हुने गरेको छ।

वडा नं. ७ का वडाध्यक्ष अर्जुन बहादुर कुमाल सहितका जनप्रतिनिधिहरु, नगरपालिकाको प्राविधिक टोली, सरोकारवाला र स्थानीयवासीहरु समेतको संलग्नतामा स्थलगत रूपमा नापजाँच गरी सार्वजनिक क्षेत्रको स्पष्ट सीमाङ्कन गरिएको हो।

प्राकृतिक सौन्दर्य, खुला वातावरण र नदी किनारको अनुपम दृश्यले प्रसिद्ध बनेको यस क्षेत्रलाई दीर्घकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिकाले आवश्यक पर्यटकीय पूर्वाधार निर्माण, संरक्षण तथा व्यवस्थापनका योजना अघि बढाएको छ।

यस पहलले सार्वजनिक सम्पत्तिको संरक्षणसँगै स्थानीय पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।