असार ९, गोरखा । गोरखाको शहिद लखन गाऊँपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड ५९ लाख ७५ हजार रुपैयाँको वजेट स्वीकृत गरेकाे छ ।
आज भएको नवौं गाऊँसभाले आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम र वजेट सर्वसम्मत पास गरेको हो । बजेमा चालुतर्फ ३१ करोड ५० लाख ३९ हजार र पुँजीगततर्फ ३० करोड ९ लाख ३६ हजार रुपैयाँ रहेको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताए ।
शहिद लखनले पूर्वाधार विकास अन्तर्गत पालिकाभित्रका मुख्य सडक र नौ वटै वडाका प्रमुख सडक स्तरोन्नती गर्ने नीति लिएको छ । संघीय सरकारसँगको साझेदारीमा देउराली ओयाक रानीस्वाँरा तीनघरे चिसापानी तीनमाने सडक स्तरोन्नतीका लागि २ करोड ८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उक्त सडक स्तरोन्नतीका लागि संघीय सरकारले पनि आगामी आर्थिक वर्षका लागि त्यतिनै वजेट छुट्यासकेको छ ।
यस्तै गाऊँपालिकाको प्रशासनिक भवन निर्माणका लागि आगामी आर्थिक वर्ष २ करोड रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन आलेमगरले बताउनुभयो । प्रशासनिक भवन निर्माणको काम चालु आर्थिक वर्षबाटै शुरु भैसकेको छ ।
कृषि र पशुपालन अन्तर्गत जग्गा भाडामा लिई ब्यवसायिक खेती गर्नेलाई ५० प्रतिशत भाडा अनुदान, रैथाने बाली संरक्षण कार्यक्रम, रासायनिक मल ढुवानीमा सहकारीलाई ढुवानी अनुदान, पालिकाभित्रै ह्याचरी उद्योग सञ्चालनका लागि उपकरण उपलब्ध गराउने लगायतका कार्यक्रम रहेको पनि शहिद लखन गाऊँपालिकाले जनाएको छ ।
गाऊँसभामा पालिकाका अध्यक्ष रमेश थापामगरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै चालु आर्थिक वर्षको वजेट कार्यान्वयनको अवस्था, मुख्य उपलब्धी र चुनौती, पालिकाले गरेका कामबारे आफ्ना धारणा राखेका थिए । उपाध्यक्ष इन्दिरा तिवारीले आर्थिक वर्ष २०७८|२०७९ को आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेकी थिइन ।
स्थानीय तहकाे कार्यकाल सकिनै लाग्दाकाे अन्तिम बजेटमा केही नयाँ र अधिकाँश पुरानै कार्यक्रमहरुलाइ निरन्तरता दिएकाे देखिएकाे छ ।