गाेरखा । शहिदलखन गाउँपालिकाद्वारा मानवसेवा आश्रमका लागि भवन निर्माण सहयाेगार्थ पाँच लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेकाे छ । आश्रममा आयाेजित कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले आश्रम प्रमुख मुना लामालाइ सहयाेग रकमकाे चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष रमेश थापा मगरले भने,’ आमा बाबु वा आफ्ना सहारा नभएका बालबालिकाहरु, सडक बालबालिकाहरुकाे उद्धार गरी जुन पुनित कार्य मानव सेवा आश्रमले गरिरहेकाे छ, त्यसलाइ साथ दिन शहिदलखन गाउँपालिकाले सहयाेग गरेकाे हाे । मानवसेवा आश्रमले गरेकाे सह्राननीय कामकाे पालिका हार्दिक धन्यवाद प्रदान गर्दछ । ‘
पालिकाले यस अघि पनि आश्रमलाइ सहयाेग गर्दै आएकाे र धेरै सहयाेग गर्ने पालिकामा शहिदलखन रहेकाे आश्रम प्रमुख मुना लामाले बताइन । प्रदान गरिएकाे रकमबाट बन्दै गरेकाे भवनमा एउटा काेठा शहिदलखन गाउँपालिकाकाे नामबाट निर्माण गरिने उनकाे भनाइ छ ।
कार्यक्रममा शहिदलखन गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शरण श्रेष्ठले १५ हजार, वडा नम्बर ९ का वडा अध्यक्ष रामप्रसाद लामिछानेले पाँच हजार नगद सहयाेग प्रदान गरेका छन् ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले, लेखा अधिकृत सन्ताेष लामिछाने, वडा अध्यक्षहरु शरण श्रेष्ठ, काशिनाथ अँगाइ, राम प्रसाद लामिछाने, भवन निर्माण समितिका सँयाेजक इश्वरकाजी मास्के, मानवसेवा आश्रमका अविभावक शितलकाजी मास्के, स्याम श्रेष्ठ,नेपाल पत्रकार महासँघ गण्डकी प्रदेशका सचिव कैलाशबाबु श्रेष्ठ, काेषाध्यक्ष राजेन्द्र न्याैपाने लगायतकाे उपस्थिति रहेकाे थियाे ।
आश्रममा हाल ४३ जना बालगाेपालहरु रहेका छन् । देशभरीका १६ जिल्लामा २६ वडा आश्रममा दुइ हजार भन्दा धेरै नागरिकहरु आश्रम लिएर बसेका छन् ।