१६ कार्तिक, गोरखा । विगत चार दिनदेखि बन्द रहेको मनास्लु क्षेत्रका जाने पदमार्ग आजबाट खुला गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङग बरालका अनुसार सूरक्षा निकाय, मनास्लु सँरक्षण क्षेत्रका अधिकारीहरुसँग जानकारी लिएर यात्रा गर्न सकिने छन् । विचमा भत्एिका बाटो स्थानीयको सहयोगमा निर्माण भएका छन् ।
मौसममा सुधार भएकाले माथि भएका पर्यटकहरुलाई तल आउन र तल भएका पर्यटकहरुलाई माथि जान खुला गरिएको बरालले जानकारी दिनुभयो ।
लामो समय बन्दा गर्दा कसैको भिषा सकिने कसैको प्लेन टिकटको म्याद सकिने हुनाले पर्यटकहरुको हितका लागि छिटो गरी बाटो मर्मत गरी सुरक्षा सावधानीका साथ यात्रा गर्न सुझाव प्रदान गरिएको बरालको भनाई छ ।
शनिबार देखि मौसममा सुधार भएर हिमाली क्षेत्र यात्रा गर्न सकिने अवस्थामा रहेको चमुनबु्री गाउँपालिका वडा नम्बर १ का अध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयो ।
सामागाउँमा बसेका पर्यटकहरु साम्दो र साम्दोमा बसेका पर्यटकहरु धर्मशाला तर्फ गइरहेका लामाको भनाई छ । उनीहरुलाई स्थानीय पथप्रदर्शकहरुको साथ रहेकाले लार्के पासका लागि पूर्ण सुरक्षा रहेको साम्दोका पर्यटन व्यावसायी निमा दोर्जे लामाले बताउनुभयो ।
यसैवीच पाङ्वारी पिक हिमालमा अलपत्र परेका ३ इटालियन र ३ नेपाली मध्ये आज विहान ९ः ५५ बजेको समयमा कैलाश एयरको हेलिकप्टरबाट एक जना इटालियन र तीन जना नेपालीको उद्धार गरी साम्दोमा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उद्धार भएकाहरुमा पेम्बा रेन्जी शेर्पा वर्ष ३५, दावा छिरी शेर्पा वर्ष ३१, पासाङ तामाङ वर्ष ३१ र भेल्टर पेरलिनो वर्ष ६५ का इटालियन नागरिक रहेका छन् । पाङ्वारी पिक वेश क्याम्प प्रथममा अलपत्र परेका अन्य २ जना इटालियन नागरिकको खोजी कार्य भइरहेको श्रेष्ठले बताउनुभयो ।
उनीहरुको उद्धारका लागि विहानै देखि कैलाश एयरको हेलिकप्टर परिचालन भएको छ । पाङ्वारी पिक हिमाल साम्दोबाट दक्षिण पूर्व तर्फ चिनको सिमा क्षेत्रमा पर्दछ ।