मलेसियाबाट फर्किएका सुरेशको सुर : अव स्वदेशमै केही गर्छु

बुधबार, मंसिर १२, २०७५
0
142

काठमाडौं । रामेछाप गोकुलगंगा १ का २५ वर्षीय सुरेश बस्नेत ५ वर्ष मलेसिया बसेर स्वदेश फर्किएको अहिले ठ्याक्कै १ एक वर्ष पुरा भयो । उनलाई अव विदेश जाने सोच छैन । १९ वर्षको लोर्के ठिटो एसएलसी सकेर घरको आर्थिक अवस्था सुधार्न ‘कलेज जाने’ सपनालाई चटक्क थाँती राख्दै हानिए मलेसिया ।
मलेसियाको गुड फुड कम्पनीमा फुड प्याकेजिङका रुपमा काम गर्न जाने बेला उनले काठमाडौंको पुरानो बानेश्वरमा रहेको वल्र्ड कम म्यानपावरलाई एक लाख ५० हजार रुपैयाँ बुझाएर मलेसियाका लागि पहिलो पटक हवाइजहाजको यात्रा सुरु गरे । उनको मानसपटलमा ती दिन अझै ताजै छन् । भन्छन्, “विदेश जाने धेरै नेपाली दाजु भाई दिदी बैनीहरुलाई म्यानपावरका दलालहरुले ठगेको सुनेको थिएँ, एउटा कम्पनी भनेर सम्झौता गर्ने र अर्कै कम्पनीमा कम तलवमा काम लगाउने गरेको पनि सुनेको थिएँ, तर मलाई काम, कम्पनी र तलव तोकिए बमोजिम नैं दिलाएपनि म्यानपावरले भने भुसुक्कै ठगेछ ।” आफु ७० हजार ठगिएको कुरा उनले मलेसिया पुगेर सोही कम्पनीमा काम गर्ने अन्य नेपालीहरु सस्तो रेटमै त्यहाँ पुगेको सुनेपछि बल्ल पत्तो पाए । उनी रिस पोख्छन्, “यस्ता दलालहरुलाई सरकारले कारबाही गर्नुपर्छ ।”
सुरुमा तीन वर्षको भिसामा मलेसिया गएका सुरेशलाई करार अवधी सकिएपछि कम्पनीले २ वर्ष अवधीका लागि पुनः करार थप गर्यो । सुरुमा मासिक १७ हजार रुपैयाँमा काम गर्न थालेका सुरेशले दैनिक ३ घण्टा ओभर टाइम पनि पाए अनि त्यस बापत उनको थप कमाई दैनिक ६०० रुपैयाँ भयो अर्थात, मासिक १२ हजार । इमान्दारीपूर्वक काम गर्दै जाँदा र साहूलाई रिझाउँदै जाँदा उनको मासिक तलवमा पनि क्रमशः बृद्धि हुँदै गयो र उनले मासिक २७ हजार हुँदै पाँच वर्ष मलेसिया बसाइको उत्तरार्धमा मासिक ३९ हजार हात पार्न थाले ।
मलेसिया जाने बेला साहूसँग काढेको एक लाख ५० हजार ऋणको साहँु व्याज उनले चुक्ता गर्नु त छँदै थियो त्यसका अलवा गाउँमा किनेको जग्गाको ऋण पनि उनले तिर्नु थियो । पाँच वर्षको मलेसिया बसाइका क्रममा उनले दुःखजिलो गरेर ३५ लाख कमाए । ती दिन उनी सम्झिन्छन्, मैले विदेशमा रहँदा घरको दुःख, बुबा आमाले गर्नु भएको दुःख सबै सम्झिएर फजुल खर्च नगरी जोगाएर पठाएको हो, पाँच वर्षको मलेसिया बसाइका क्रममा धेरै देखेँ, भोगेँ, अव म विदेश जान्न गाउँमै गएर उन्नत तरिकाको कृषि पेशा गर्ने योजनामा छु ।”
मलेसियाको कमाइलेनैं उनले रामेछापमा १८ लाखको जग्गा पनि खरिद गरेका छन् । पाँच दाजुभाइ मध्येका माइला सुरेश आफ्ना भाइहरुलाई सकेसम्म पढन् र उन्नत जातको अर्गानिक खेती गर्न अनि बाख्रा पालन गर्न अराइ सिकाई गर्ने सोचमा छन् ।
नेपाली युवाहरु अझै पनि विदेश जान निकै लालायीत भएको देख्दा सुरश उनीहरुलाई विदेशमा आफुले गर्ने काम र सिपको बारेमा राम्रोसँग तालिम लिएर जान आग्रह गर्छन् । उनी म्यानपावरका दलालहरुसँग जोगिन र ठगको चंगुलमा पर्न सक्ने सम्भावनाप्रति पनि उत्तिकै सचेत हुँन अनुरोध गर्छन् ।
वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका कैयौ नेपाली दाजुभाइ दिदी बैनीहरुले तरकारी खेती, बंगुर पालन, बाख्रा पालन आदि गरेको आफुले देखेको भएतापनि त्यसको बजारीकरणमा सरकारले उत्तिसारो ध्यान नदिएकोमा सुरेशको मन खिन्न भएको छ । उनी वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै केही स्वरोजगारमूलक काम गर्न चाहनेहरुलाई सरकारले तालिम, सिप, र ऋण तथा अनुदान दिएर यसप्रति युवाहरुलाई आकर्षित गर्नुपर्ने आवश्यकता रहेको बताउँछन् ।
वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सबाटै देश चलेको भन्दै उनले वैदेशिक रोजगारीका लागि अधिकाँश नेपालीहरु जाने मुलुकहरु मलेसिया र खाडी क्षेत्रका लागि सरकारले निःशुल्क भिसा र टिकट उपलव्ध गराउन रोजगारदाता कम्पनी र ती देशलाई कडाइकासाथ लागू गर्ने र नेपालमा संचालित म्यापावरहरुलाई पनि कडा निगरानीमा राख्नु पर्ने बताए ।
२५ वर्षका सुरेश यतिबेला नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखामा कार्यालय सचिवका रुपमा कार्यरत छन् । करिव एक वर्ष अघि बुबा गुमाएका सुरेशलाई अव आमाको काख छोडेर विदेशिने चाहना छैन । र त भन्छन्, “पुग्यो विदेश ।” (प्रस्तुती : फणीन्द्र फुयाल ज्वाला)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here