Home Breaking News कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो

कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप नेपाल आईपुग्यो

बिहिबार, माघ ८, २०७७
0
243

काठमाण्डौ, ८ माघ । भारत सरकारले अनुदानमा दिएको कोरोना भाइरस विरुद्धको १० लाख डोज ‘कोभिसिल्ड’ खोप काठमाडौँमा आइपुगेको छ । खोप लिएर आएको एयर इण्डियाको जहाज बिहान ११ः५३ मा अवतरण गरेको थियो । कोरोना खोपको निगरानीका लागि स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा विमानस्थलमै पुगेका थिए ।

सो खोपलाई त्रिभुवन विमानस्थलको कार्गो भवनमा रहेको कोल्ड स्टोरमा राखिनेछ। त्यसपछि उक्तखोप टेकुस्थित केन्द्रीय भ्याक्सिन स्टोरमा राखिनेछ । त्यहाँ २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राखिने उक्त खोप बढीमा पाँचदिन भित्र विभिन्न सात प्रदेशका भ्याक्सिन आपूर्ती केन्द्रमा पठाइने स्वास्थ्य सेवा विभागको खोप शाखाले जानकारी दिएको छ । खोप शाखा प्रमुख एवम् खोपविज्ञ डा.झलक शर्मा गौतमका अनुसार ‘कोभिसिल्ड’ लाई उपत्यका सहित विराटनगर, हेटौँडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढीमा कोल्डस्टोर राखिनेछ । तिनै कोल्डस्टोरमा पुगेका खोप जिल्ला जिल्लामा पठाइने तयारी भएको छ ।

भारतको पुणेस्थित सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित ‘कोभिसिल्ड’ खोप भारत सरकारले नेपाललाई अनुदानमा दिएको हो । उक्तखोपको प्रभावकारिता औसतमा ७०.४ प्रतिशत रहेको पाइएको छ। खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम दिइसकिएको पनि गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले भने खोप जिल्ला पुगेपछि एक हप्ता भित्र लगाइसक्ने गरी तयारी गरिएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप अभियान सुरु हुनेछ।

सुरूमा यो खोप स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्तिहरु, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयम् सेविकातथा स्थानीय निकायबाट खटाइएका सफाइकर्मीलाई लगाइनेछ । यस्तो सङ्ख्या करिव ४ लाख हाराहारी रहेको सरकारी तथ्याङ्क छ । अनुदानमा आएको यो खोपको प्रभावकारितालाई विचार गर्दै सरकारले बाँकी खोप खरिद गर्ने जनाइ सकेको छ । नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारी योजना पूरा हुन ५ करोड डोज खोप चाहिने विशेषज्ञहरूले बताएका छन् ।

NO COMMENTS