कात्तिक । नेकपा एकीकृत समाजवादीले आसन्न निर्वाचनको लागी चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । प्रतिनिधि सभा प्रदेश सभा सदस्यका लागी सोमबार बानेश्वरस्थित पार्टी कार्यालयबाट एकीकृत समाजवादीका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा एकीकृत समाजवादीले पूर्वदेखि पश्चिमसम्म मेगा नहर बनाउने उल्लेख गरेको छ । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै नदीलाई एक अर्कासँग जोडी ‘पूर्व–पश्चिम मेगा नहर’ बनाई सिँचाइ, कृषि सडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने एकीकृत समाजवादीले बताएको छ ।
त्यस्तै विदेशबाट फर्केका युवालाई कृषि पेशामा आकर्षित गर्न १० लाखसम्म निर्ब्याजी ऋण दिने व्यवस्था गर्न अभियान नै सञ्चालन गर्न घोषणा गरेको छ । वर्तमान निर्वाचन प्रणाली अन्त्यन्त खर्चिलो भएको भन्दै सुधारका लागि पहल गर्ने उल्लेख छ । ‘निर्वाचन प्रणालीमा सुधार अहिलेको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो र भड्किलो समेत छ,’ घोषणापत्रमा भनिएको छ, ‘यो मूलतः धेरै पैसा खर्च गर्नेले मात्र जित्न सक्ने खालको छ ।
यो जटिल पनि छ र कुनै पार्टीले बहुमत ल्याउन नसक्ने खालको छ । कुनै पनि पार्टीको एकल बहुमत नआएपछि गठबन्धनको सरकार बन्ने र त्यो अस्थिर भई विकास निर्माणका काम गर्न नसक्ने अवस्था देखिएको छ ।’ त्यस्तै आफ्नो पार्टीले यसपकट कम खर्चिलो चुनाव बनाउने प्रयास गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।