राजेन्द्र न्यौपाने
गोरखा,२५ जेठ । मनकामना क्षेत्रमा जेठ मासमा पर्ने नामरुङ औँसी विविध साँस्कृतिक कार्यक्रम गरि मनाएका छन् । औँसीको दिन पारेर भूमे पुजा गर्ने र सामूहिक भोज गर्ने प्रचलन रहि आएको छ । मगर समुदायले मनाउने यस पर्वलाई जाँड खाने औँसीको रुपमा समेत लिने गरिएको मनकामनाका स्थानीय नातीबाबु थापाले बताए ।
दिनभरी पूजापाठमा रहने मगर समुदायका मानिसहरु साँझतिरबाट नाचगान गरेर रमाइलो गर्ने गर्दछन् । यस पर्वले सामूहिक भोज खाने र इष्टमित्र जमघट गर्ने अवसर दिएको शहिदलखन गाउँपालिका वडा नम्बर २ की वडा अध्यक्ष सकुन मगरले बताइन ।
परम्परागत रुपमा चल्दै आएको रीतिरिवाजलाई जगेर्ना गर्न सके पछिल्लो पुस्ताले समेत हेर्न पाउने भएकाले यसलाई पर्वका रुपमा मनाउने गरिएको बेतेनी सामुदायिक होमस्टेका अध्यक्ष दिल बहादुर गुरुङले बताए ।
गोरखामा पहिलो पटक यस क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालनमा आएको थियो । ११ घर मगर तथा गुरुङ समुदायले गाउँमा आएका पाहुनाहरुको सेवा गर्दै आएका छन् ।