गाेरखा । जिल्लाकाे शहीदलखन गाउँपालिका वडा नम्बर ३ स्थित मनकामना कृषि सहकारीका किसानहरु बेसार उत्पादनमा जुटेका छन् । गएकाे वर्ष २०० क्विन्टल विउ सहकारीका सदस्यहरुलाइ सहमति मार्फत प्राप्त भएपछि बाँझाे रहेका जमिनमा किसानहरुले खेती गरेका हुन् ।
सामूहिक रुपमा १४ राेपनी जग्गामा खेती गरिएकाे र व्यक्तिगत रुपमा २५६ जना किसानहरुले खेती गरिररहेकाे सहकारीका अध्यक्ष हाेमनाथ रिमालले बताए ।
हलेदाे उत्पादन पछि बेसार बनाएर बजारमा डुलाउनुपर्ने अवस्थाकाे अन्त्य गर्न सहकारी जुटेकाे उनकाे भनाइ छ । खन्दाखन्दैकाे हलेदाे प्रतिकेजी २० रुपैयाँमा किसानहरुसँग खरिद गरेर सँकलन गरिरहेकाे उनले बताए ।
विषादी, युरिया मल केही पनि प्रयाेग नभएकाे शुद्ध बेसार लेभलिङ सहित बजारमा पठाउने तयारीमा सहकारी जुटेकाे हाे । सहकारीले गाेरखा नगरपालिका, शहीदखन र आँवुखैरेनी गाउँपालिका भित्रका किसानहरुकाे उत्पादन समेत खरिद गरिररहेकाे छ । बजारमा विभिन्न मिसावट सहितकाे बेसार आइरहेका समयमा मनकामना कृषि सहकारीले खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयकाे चेकचाँज सँगै अर्गानिक उत्पादन ल्याउन लागेकाे हाे ।