गोरखा । गोरखमा ११ औं गोरखा महोत्सव हुने भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा यही पौष २७ बाट महोत्सवको आयोजना गरिएको हो ।
संघले पत्रकार सम्मलेनको आयोजना गर्दै महोत्सव आयोजना गरिएको बारेमा जानकारी दिएको छ । संघको आफ्नै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कृष्णकुमार श्रेष्ठले ३०१ औं पृथ्वीजयन्तीको अवसर पारेर पौष २७ बाट माघ ७ गतेसम्म महोत्सवको आयोजना गरिएको बताए ।
अध्यक्ष श्रेष्ठले विगतमा महोत्सवमा देखिएका बिकृति तथा विसंगतिलाई सुधार गर्दै यस पटकको महोत्सव आयोजना गरिएको बताए । महाेत्सवमा १०० वटा मात्र स्टल राखिने भएकाे छ । ११ औं गोरखा महोत्सवमा साना तथा घरेलु उत्पादनका साथै स्थानीय उत्पादन र नेपाल भित्र उत्पादित व्यापारिक बस्तुको मात्र प्रर्दशनी हुने छ । फेन्सी तथा आयातित कपडाहरुको स्टल भने यस महोत्सवमा नराखिने पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
महोत्सवमा म्यान अफ द गोरखा दौड प्रतियोगितालाई पनि निरन्तरता दिईएको छ । ८ किलो मिटरको यो दौड पस्लाङ चौताराबाट सुरु भएर गोरखा दरर्बारमा पुगेर टुगिने छ । यस पटकको महोत्सवमा औद्योगिक प्रर्दशनी, हस्तकला प्रर्दशनी, कृषि प्रर्दशनी, जाति विशेषको खाना पनि महोत्सव स्थलमा रहने भएको छ ।
हास्य ब्यग्यका साथ विविध मनोरञ्जनका कार्यक्रम राखिएको भएता पनि दोहरी गित प्रतियोगिता भने यस पटक हटाइएको छ । महोत्सवमा खुल्ला युगल तथा गोरखा नगरपालिका भित्रका मावि स्तरिय नृत्य प्रतियोगिता, चौथो गोरखा तारा, प्रदेश स्तरिय ब्याडमिन्टन, जिल्ला स्तरिय बक्तृत्वकला, रत्यौली गित, मनोरञ्जनात्मक खेल, फोटो प्रर्दशनी र चित्रकला प्रतियोगिता समेतको आयोजना गखिएको आयोजक गोरखा उद्योग बाणिज्य संघले जनाएको छ ।
महोत्सवमा नगरपालिका र गाउँपालिका स्तरिय खेलकुद र साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । महोत्सवमो पहिलो दिन हुने शोभा यात्रामा सहभागी बिच शोभा यात्राको प्रतिगिता पनि हुने आयोजकले जनाएको छ ।
५० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको महोत्सवमा सर्व साधारणलाई १०० रुपैयाँ र विद्यार्थी, जेष्ठ नागरिक तथा असहायहरुलाई भने ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
संघले आयोजना गरेको पत्रकार सम्मेलनमा ५७ लाख ३९ हजार रुपैयाँ महोत्सवबाट आम्दानी हुने र ५१ लाख ८१ हजार ३०० खर्च भएर ५ लाख ५७ हजार ७०० आम्दानी हुने अनुमान समेत गरेको छ ।