Home Breaking News सिर्दीवाससम्म मोटर पुगेपछि सिमा क्षेत्रमा नुनको मूल्य पचासप्रतिशत कम

सिर्दीवाससम्म मोटर पुगेपछि सिमा क्षेत्रमा नुनको मूल्य पचासप्रतिशत कम

आइतवार, बैशाख १०, २०८०
0
194

मु गुम्बा समान लैजान तयारी अवस्थामा रहेका खच्चड जगत बगरमा । तस्वीर राजेन्द्र न्याैपाने

१० वैशाख, गोरखा । गोरखा जिल्ला सदरमुकामबाट ५२ कोष उत्तरमा साम्दो गाउँ र ४८ कोषमा निलेगाउँ पर्दछ । यस क्षेत्रमा सवारी साधनको रुपमा खच्चड रहेको छ । खच्चडबाट दैनिक जीवनका लागि चाहिने समानहरु ढुवानी हुने गर्दछ । गोरखाको यहाँ यातायातको साधन नपुग्दा सुरुका समयमा गोरखा बजार र पछिल्लो समय आरुघाट बजारबाट खच्चडबाट समान ढुवानी हुने गरेको थियो ।

नेपाली सेनाले चिनको सिमा सम्म सडक पुर्याउने जिम्मा लिएसँगै हाल सडक चुमनुब्री गाउँपालिका वडा नं. ३ स्थित सिर्दीवास सम्म पुगेको छ । सडक नपुग्दा सिर्दीवासमा प्रतिकिलोग्राम एकसय रुपैयाँ पर्ने नुनको मूल्य अहिले ५० रुपैयाँमा पाइन थालेको छ । आरुघाट गाउँपालिकाको सोतीबजारबाट गाडिमा सिर्दीवासको हावा डाँडा सम्म सवारी साधनहरु पुग्न थालेसँगै दैनिक उपभोग्य सामग्रीको मूल्य घटेको वडा अध्यक्ष रामकुमार गुरुङ बताउँछन् ।

बाटो जति नजिक आइरहेको छ, बस्तुको मूल्य पनि त्यतिनै कम भइरहेको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाको भनाइ छ । वडा नम्बर ७ स्थित लार गाउँमा यतिबेला प्रतिकेजी नुनको मूल्य एकसय रुपैयाँ रहेको छ । यस अघि यहाँ नुनको मूल्य १५० रुपैयाँ थियो । यस क्षेत्रका नागरिकहरुले वर्षभरीका लागि चाहिने समान खच्चड मार्फत एकैसाथ ल्याउने हुनाले यहाँ खुद्रा कारोवार हुँदैन । बजारमा किनेको मूल्य र ढुवानी भाडा जोड्दा मूल्य बढ्ने लारका नवाङ लामा बताउँछन् । तलकाे बजारमा २५ रुपैयाँमा पाइन्छ , माथि ल्याउँदा महँगाे पर्न जान्छ उनले भने । एक किलाेग्राम ढुवानी गर्न ८० देखि १०० रुपैयाँ लाग्ने गर्दछ । व्यापारीले केही प्रतिशत नाफा राख्दा एक किलाेग्रामकाे नुनकाे मूल्य १५० पर्न गएकाे उनले बताए ।

सिर्दीवासबाट साम्दोतर्फ मोटरबाटो निर्माण भइरहेपनि छेकम्पार तर्फ भने निर्माण अघि बढेको छैन । मोटरबाटो सहज हुन सके उत्तरी क्षेत्रको दैनिकी सहज हुने चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाकाे भनाइ छ । यहाँको विकास भनेको पहिले मोटरबाटो ल्याउनु अनिवार्य रहेको लामाले बताए ।

आरुघाट बजारमा दुइ हजारमा पाइने चामल छेकम्पार पुर्याउँदा पाँच हजार रुपैयाँ पर्ने गरेको छ । खच्चडबाट दुवानी गर्दा मूल्य बढ्दै जाने गरेको छ । मोटरबाटो भए लागत कम हुने लामाले बताए ।

NO COMMENTS