पाेखरा । सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड सागरराज तिमिल्सिनालाई प्रदान गरिने भएको छ । अवार्ड अन्तरगत गठन भएको पत्रकार छनोट समितिको सिफारिसलाई मञ्चको कार्यसमितिको पच्चिसौं बैठकले अनुमोदन गरेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए ।
समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका उनी हाल एपीवान टेलिभिजन गण्डकी प्रदेश व्युरो प्रमुख हुन् । क्लिक गण्डकी डट कम र उज्यालो अनलाइनमा समेत कार्यरत तिमिल्सिनाले पोखरा एफ एम, एभिन्युज टेलिभिजन, सेतोपाटी डट कम, गन्थन डट लगायतका सञ्चार माध्यममा काम गरिसकेका छन् ।
यसअगाडि सन्तोष पोखरेल, विनोद लामिछाने, सन्देश श्रेष्ठ, केशव पाठक र दीपक परियारले यो विधाको अवार्ड हात पारेका थिए ।
शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रम कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ ।