गोरखा, २५ असोज । गोरखामा ६ दिनदेखि वेपत्ता भएका एक पुरुषको शव फेला परेको छ । गोरखा नगरपालिका–१०, छेवेटार बजारको ठुटेबगर स्थित दरौँदी नदीको किनारमा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
साविक गोरखा नगरपालिका–३ घरभई सिरानचोक गाउँपालिका–६ नयाँसाँघु बस्दै आएका भिमबहादुर बि.कको शव भेटिएको उनले बताए । ‘‘स्थानीयबासीहरुले दरौँदी नदी किनारमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए, डिएसपी श्रेष्ठले भने । ‘‘प्रहरीलाई सूचना आएलगत्तै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा बिकको शव भएको पुष्टी भएको हो । ’’
नयाँसाँघुमा काम गरेर बस्दै आउनु भएका बि.क यहीँ असोज १९ गतेदेखि वेपत्ता भएका थिए । वेपत्ता भएलगत्तै प्रहरी र स्थानीयबासीहरुले उनको खोजी गरिरहेको थियो । शवको पोष्टमार्टम गरी अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।