कास्की । घान्द्रुकबाट बेलायती सेनामा भर्ती नभएको घर सायदै होला । जवानहरु बेलायत गएपछि परिवारले पनि थातथलो छोडे । ब्रिटिश सेनामा भर्ती हुने क्रमसँगै रित्तिएको गाउँ र बाँझिएको जमिनमा तितेपाती भरियो । त्यसपछि घान्द्रुकका अगुवाहरुले गज्जवको जुक्ति निकाले, तीतेपातीबाटै तेल निकाल्ने ।
गाउँ बाहिर रहेका र खासगरी बेलायतमा रहेका पूर्व बेलायती सैनिकहरुलाई समेटेर स्थानीयले १ करोडभन्दा बढीको सामूहिक लगानीमा तितेपाती प्रशोधन केन्द्र स्थापना गरेका छन् ।
अगुवा पूर्ण गुरुङ रित्तिएको गाउँमा युवालाई रोक्न र विदेशिएकालाई गाउँ फर्काउन तितेपाती प्रशोधनलाई जोड दिएको बताउँछन् । ‘बजार जाने र विदेश पलायन हुँदा जग्गा सबै बाँझो भयो । ती जग्गामा अहिले तितेपाती उम्रिएको छ,’ उनले भने, ‘प्राकृतिक रुपमा उम्रिएका छँदैछन् । यसलाई खेती नै गर्नुपर्छ भनेर गाउँलेलाई सिकाएका छौँ ।’
तितेपातीसँगै अर्गानिक खेतीमा पनि समूह लागिरहेको छ । ‘७० रोपनी जग्गा लिएर अर्गानिक खेती गर्न थालेका छौँ । सबै जग्गा पूर्व गोर्खा सैनिकहरु र उनीहरुको परिवारको हो,’ पूर्ण भन्छन्, ‘नेपालमा जग्गा भएको र बेलायतमा बसोबास गर्नेहरुको जग्गा बढी छ ।’
स्थानीयहरुले हिमालय एग्रो तथा जडीबुटी बहुउद्देश्यीय कृषक समूह दर्ता गरेका छन् । सोही समूहले तितेपातीलाई प्रशोधन गरेर सुगन्धित तेल उत्पादन गरेको हो । कृषि विज्ञ डम्बर गुरुङका अनुसार ५ सय किलो तितेपातीबाट १ लिटर सुगन्धित तेल उत्पादन हुन्छ र यो तेल निकै महँगो मूल्यमा अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ ।
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि गाउँलेबाट प्रतिकेजी ४ रुपैयाँमा तितेपाती खरिद गरिएको छ । तितेपातीको तेलले चर्म रोग लगायतका विभिन्न रोग निर्मूल पार्ने विज्ञहरू बताउँछन् ।
घान्द्रुकमा निर्माण गरिएको प्रशोधन केन्द्रबाट असोज २१ गतेदेखि तेल निकाल्न थालिएको हो । अहिलेसम्म ७० लिटर भन्दा बढी तेल उत्पादन भइसकेको छ ।
उनीहरुले उत्पादन गरेको तेल बुटवलमा श्याम आचार्यलाई बिक्री गर्ने गरेका छन् । श्यामले पनि बुटवलमा प्रशोधन केन्द्र चलाइरहेका छन् । उनले जापान लगायत देशमा निर्यात गर्छन् । श्यामले वर्षमा ५ सय लिटर मागेका छन् । प्रतिलिटर १० हजारका दरले बिक्री गर्ने सम्झौता भएको छ । वर्षमा ७ महिना जति प्रशोधन केन्द्रलाई तितेपातीको अभाव नहुने सहकारीका सचिव समेत रहेका पूर्णले बताए ।
‘घान्द्रुकमा त जता हेर्याे उतै तितेपाती छ । मेसिन चल्दासम्म तितेपाती अभाव छैन,’ उनले भने, ‘वर्षमा ७ महिनासम्म चलाउन सकिन्छ । त्यसपछि तेल सम्बन्धी जडीबुटी रोप्ने र अर्गानिक खेती गर्ने तयारी छ ।’
प्रतिलिटर तेल निकाल्न ६ हजारजति खर्च निस्किन्छ । सुरुमा मेसिन चलाउन चितवनबाट अपरेटर लगेर गाउँका २ जनालाई सिकाएका छन् । गाउँका युवाले सिकेपछि अहिले उनीहरुले नै चलाइरहेका छन् । उनीहरुलाई प्रतिव्यक्ति १७ हजार ३ सय रुपैयाँ तलब दिइएको छ । सहकारीमा ७० जना शेयर सदस्य छन् । त्यसलाई विस्तार गर्ने र सबै गाउँलेलाई समेट्ने योजनाका साथ काम गरिरहेको सञ्चालकहरुले बताएका छन् ।