पोखरामा ‘सपादलक्ष कर्णाली’ माथि चर्चा, कर्णालीलाई सम्भावनाको खानीका रूपमा चित्रण

आइतवार, भदौ १, २०८२
0
101

पोखरा । र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा कर्णालीसम्बन्धी विशेष कार्यक्रम आयोजना गर्दै माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को समीक्षा तथा विमर्श गरेको छ ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परिचर्चाकार भावना पोखरेलले कर्णाली विकासका दृष्टिले पछि परे पनि बहस र बौद्धिक चेतनामा अगाडि रहेको धारणा राखिन् । उनले कर्णालीलाई ‘खस सभ्यताको मूल मुहान’ का रूपमा स्मरण गर्दै यसको सांस्कृतिक र ऐतिहासिक महत्त्व सबै नेपालीका लागि साझा सम्पदा भएको उल्लेख गरिन्।

लेखक माधव चौलागाईँले कर्णालीलाई केवल दुर्गम क्षेत्रका पर्यायवाची रूपमा लिन नहुने बताए । उनले कर्णालीलाई सम्भावनाको खानीका रूपमा व्याख्या गर्दै यो सभ्यता, संस्कृति र भूगोलसँग गाँसिएको व्यापक अवधारणा भएको तर्क गरे । सङ्घीय संरचनामा कर्णालीका नाममा विनियोजित बजेट कुनै एक जिल्लामा मात्र सीमित हुनु असङ्गत भएको भन्दै उनले सचेत रहन आग्रह गरे ।

साहित्यकार सरुभक्तले कर्णाली भ्रमणका आफ्ना अनुभव सुनाउँदै कर्णाली हिजोभन्दा आज र आजभन्दा भोलि अझ सबल बन्दै जाने विश्वास व्यक्त गरे । उनले ‘सपादलक्ष कर्णाली’ लाई कर्णालीबारे गहन जानकारी दिने दस्ताबेजका रूपमा चित्रण गरे।

कार्यक्रममा मेघनाथ कुँवर, सुरेश रानाभाट, विद्याविमल बराल, डिल्लीप्रसाद ढुङ्गाना, रेसम गिरी, रोशन तलिगोठ्याल, खिम लामिछाने, डा. रामचन्द्र बराल, भानुभक्त पोखरेललगायत वक्ताहरूले टिप्पणी गरेका थिए ।

र्‍यान्डम रिडर्स सोसाइटीले प्रत्येक महिनाको अन्तिम शनिबार कुनै पुस्तक वा विषयमाथि बौद्धिक बहस गर्ने परम्परा अनुसार यसपटक ‘सपादलक्ष कर्णाली’ केन्द्रमा रहेर कर्णालीको विविध आयाममाथि छलफल भएको हो ।रातोपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here