गाेरखा । मनास्लु हिमाल आरोहणका क्रममा क्यानडाका नागरिक ३७ बर्षिय ब्रेन्ट सेलको मृत्यु भएको छ । ८,१६३ मिटर उचाईको मनास्लु हिमालको आरोहणका क्रममा सेलको मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
चार नम्बर बेस क्याम्पबाट एकसय पचास मिटर माथि पुगेका सेल मँगलबार बिहान ७ः३५ मा अचानक ढलेर बेहोस भई मृत्यु भएको डिएसपी प्रकाश दाहालले जानकारी दिए । सेल स्नो होराईजन कम्पनी मार्फत मनास्लु आरोहणका लागि त्यहाँ पुगेका थिए ।
कम्पनी मार्फत प्रहरीलाई जानकारी प्राप्त भएपछि सामागाउँ प्रहरी चौकीको टोलीले स्थानीयसँग समन्वय गरी मृतकको शव बोकेर सामागाउँस्थित मनास्लु बेस क्याम्पसम्म ल्याएका थिए । बुधबार बिहान कैलाश एयरको हेलिकोप्टर मार्फत शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पुर्याईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मनासलु हिमाललाइ किलर माउण्टेनका रुपमा लिइने गरिन्छ ।





