काठमाण्डौं । नेपाल टेलिकमको तार चोरी गर्ने गोरखाका एक युवक सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका ६ लोलाङ हाइटस्थित पोलहरुमा राखिएको टेलिकमको तार चोरी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाण्डौं गैरीधारा डेरा गरी बस्ने बझाङ बुङ्गल नगरपालिका ७ घर भएका २३ वर्षीय प्रेमबहादुर बोहरा, काठमाण्डौं सुकेधारा डेरा गरी बस्ने कैलाली घोडाघोडी नगरपालिका २ घर भएका २५ वर्षीय नमेश बुढा, गोरखा सिराञ्चोक गाउँपालिका १ घर भएका १८ वर्षीय किशोर, काठमाण्डौं बानेश्वर बस्ने कैलाली टिकापुर नगरपालिका १ घर भएका २४ वर्षीय गोबिन्द साउँद र काठमाण्डौं महानगरपालिका १६ नयाँ बजार बस्ने काभ्रे बनेपा नगरपालिका १२ घर भएका ३० वर्षीय प्रबिन कार्की रहेका छन् ।
उक्त स्थानमा टेलिकमको तार चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजु तथा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौं तारकेश्वर नगरपालिका ६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश न। ३–०१–०२३ च। ४३०१ नम्बरको हात्ती गाडी जंगलतर्फ गईरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त गाडीमा टेलिकमको तार फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
सोही आधारमा सोधपुछ गर्दा चोरीमा संलग्न सबैलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । उनीहरुको साथबाट तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु र ११४ मिटर कालो टेलिफोनको तार समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर महानगरीय प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।






