नेकपा माओवादीका अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कारण र समयमा बाटो बिराएर माओवादी छाडेर गएकाहरुलाई मुल पार्टी माओवादी केन्द्रमा फर्कन आव्हान गरेका छन् ।
पार्टी मुख्यालयमा आयोजित पार्टी समाहित र प्रवेश कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले माओवादीले उठाएको एजेण्डामै देश हिँडिरहेको र हाम्रा एजेण्डा नै स्थापित हुँदै गइरहेकाले शान्ति र विकासको लागि माओवादी नै एक मात्रै विकल्प भएकाले यही पार्टीमा फर्किन आव्हान गरेका हुन् । उनले माओवादीमा आएको फुट र विखण्डनले प्रतिक्रियावादी र परिवर्तन विरोधी शत्तिःहरु खुशी हुने भएकाले माओवादी शक्ति र घटकहरुको एकता आवश्यक भएको बताए । उनले गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता र सामाजिक न्याय र समानताका एजेण्डाहरु माओवादीले ल्याएकोले यसलाई उल्टाउन प्रतिक्रियावादीहरु मरिहत्ते गरेर लागेको बताए।
प्रचण्डले स्थानीय निर्वाचनको मुखमा पार्टी प्रवेश गर्नु एउटा लडायँमा सगर्व उपस्थित हुने जस्तो भएकाले यतिवेला पार्टीमा प्रवेश गर्नेहरुलाई विशेष मुल्यांकन गरिने बताए ।
उनले मोहन बैद्य, बाबुराम भट्टराई, नेत्र विक्रम चन्द, गोपाल किराँतीहरुको नाम नलिइकनै जो जुन अवस्थामा रहेको भएतापनि मुल घर माओवादीमै फर्किनु नै राम्रो हुने बताए।
कार्यक्रममा जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पुर्व माओवादी सांसद कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा समाहित भएका थिए भने सोलुखुम्बु सोताङका एमालेका युवा नेताहरु विश्वकिर्तिमानी तथा नेकपा एमाले सोताङ गाउँ पार्टी कमिटिका सदस्य, पुर्व सोलु काठमाडौं सम्पर्क समिति सचिवालय सदस्य बुद्धिराज नाछिरिङको नेतृत्वमा मदन नाछिरिङसहित एक दर्जन युवाहरु एमाले छाडी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसैगरी सोलुखुम्बुका पुराना कांग्रेस कार्यकर्ता दशबिर राईलगायतका युवाहरुपनि नेपाली कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।






