बुढीगण्डकी आयोजना ‘रेडी टु गो’ आयोजना हो  : प्रधानमन्त्री दाहाल

बुधबार, साउन ३, २०८०
0
166

राजेन्द्र न्यौपाने
साउन ३ गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजना ‘रेडी टु गो’ (Ready to Go) आयोजना भएको बताए। गोरखाको सिउरेनीटारमा आज बुढीगण्डकी जलविद्युत कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् ।

हिउँद र वर्षातको समयमा हुने विद्युत असन्तुलनलाई बुढीगण्डकी जलविद्युत आयोजनाले समाधान गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो । यस आयोजनामा मुअब्जा वितरण सकिएर डिपिआर भैसकेको र अध्ययन प्रतिवेदन समेत प्राप्त भएकाले कुनै पनि तर्क र बहानामा आयोजनामा ढिलाइ नहुने प्रधानमन्त्री दाहालले बताए ।

बुढी गण्डकी जलविद्युत आयोजनामा सरकारको ४३ अर्व लगानी भैसकेको प्रधानमन्त्री दाहालले बताए । प्रधानमन्त्रीले भन्नुभयो,“ गोरखा र धादिङका जनताले पचासौँ हजार रोपनी जग्गा दिनुभएको छ , आफ्नो थाकथलो छोड्नुभएको छ, सामाजिक र मानसिक रुपमा उहाँहरु विस्थापित हुनुभएको छ , राज्यलाई यति धेरै सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद प्रदान गर्दछु । बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रको रिङरोड व्यवस्थापन, बजार व्यवस्थापन, पुर्नवासका कार्यक्रम जनताको सहभागितामा अघि बढाइनेछ ।”

बुढीगण्डकी आयोजना निर्माणका लागि चाहिने करिव २ खर्व रुपैयाँ विद्युत प्राधिकरण, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, विमा सँस्थान लगायतका सँस्थासँग सहकार्य गरिने प्रधानमन्त्री दाहालको भनाई छ ।

देशभित्र विद्युतको खपत बढाउने र धेरै भएको विद्युत १० वर्ष भित्र १० हजार मेगावाट भारतलाई विक्री गर्ने गरी सम्झौता समेत भएको उनले बताए । विदेशमा विजुली विक्री गरेर विदेशी मुद्रा आर्जन गरिने र देशको अर्थतन्त्रलाई बलियो बनाउने योजना सरकारको रहेको उनकाे भनाइ छ । बुढीगण्डकी जलविद्युत आयोजनाले सिँगो देशको विकासमा महत्व राख्ने प्रधानमन्त्री दाहाललले बताउनुभयो । सामान्य रुपमा हेर्दा महँगो जस्तो लागेपनि बहुउदेश्यीय आयोजना भएकोले राज्यको अर्थतन्त्रमा कायपलट हुने उनकाे भनाइ छ ।

आफूले निर्वाचनमा प्रतिबद्धता गरे अनुसार बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको प्रधानमन्त्री दाहालले बताए । छिटो भन्दा छिटो आयोजनाको शिलान्याश गर्न आफू आउने उनले प्रतिवद्धता व्यक्त गरे । देशको विकासको लागि केहि भिन्न रुपमा लागि परेको र विकासका लागि दृढ सँकल्प लिएको प्रधानमन्त्रीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here