गाेरखा । जिल्लाकाे गण्डकी गाउँपालिकाले चेपाङ समुदायकाे न्वागी पर्वका दिन पारेर भदौ २२ गते सार्वजनिक विदा घोषणा गरेको छ ।
पालिकामा बसोबास गर्ने सीमान्तकृत चेपाङ समुदायको मुख्य पर्व न्वागी(छोनाम) को अवसरमा सार्वजनिक विदा गरेको पालिकाले सार्वजनिक सूचनामार्फत जानकारी दिएको हाे ।
गाउँपालिकाको भदौ ५ गते बसेको कार्यपालिका वैठकले गाउँपालिका अन्तरगतका सार्वजनिक संघसंस्थामा सार्वजनिक विदा दिने निर्णय गरेको थियाे ।
न्वाँगी (छोनाम) को अवसरमा सांस्कृतिक झाँकी प्रदर्शन र चेपाङ जातिको बसोबास रहेको गण्डकी गाउँपालिकाका प्रत्येक वडाबाट चेपाङ जाति सम्मिलित एक समूहले झाँकी प्रदर्शन गर्ने कार्यक्रम रहेको गण्डकी गाउँपालिकाले जनाएको छ ।
झाँकी प्रदर्शनीमा चेपाङ जातिको भेषभुषा तथा संस्कृति झल्कने गरी गीत, नृत्य वा समान प्रकृतिका प्रतिभा देखाउनुपर्ने र उत्कृष्ट हुनेलाई पुरस्कारको समेत व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले बताए ।
कार्यक्रमा गण्डकी गाउँपालिकाभित्र स्थायी बसोबास भएका चेपाङ जातिबाट सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय तथा महत्वपूर्ण प्रगति हासिल गरेका महानुभावहरुलाई सम्मान कार्यक्रम समेत गर्ने कार्यक्रम राखिएको पालिकाले जारी गरेकाे सूचनामा उल्लेख छ । 






