शिक्षकहरुका माग सम्बाेधन गर्नुपर्दछ : पूर्व शिक्षा मन्त्री पाैडेल

बिहिबार, असाेज ४, २०८०
0
142
फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षकका जायज माग सम्बोधन हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा जारी गरेको एक भिडियोमार्फत शिक्षकको आन्दोलनमा समर्थन जनाउँदै उनले शिक्षकले प्रस्तावित विधेयकमा संशोधनका लागि राखेका माग सम्बोधन हुनुपर्ने बताएका हुन्।

पूर्वशिक्षामन्त्री पौडेलले भनेका छन्, ‘यति बेला शिक्षक साथीहरू केही माग राखेर आन्दोलनमा हुनुहुन्छ। राज्यले प्रस्तावित विधेयक संशोधनका लागि केही माग राखेर आन्दोलन गरिरहनुभएको छ। त्यसमा मेरो समर्थन छ।’

उनले विधेयकमा शिक्षकको ग्रेडिङ, मर्यादाक्रम, लामो समयदेखि सेवामा रहेका शिक्षकहरूको आन्तरिक प्रतिस्पर्धाबाट सेवामा जोड्ने र आन्तरिक प्रतिस्पर्धाबाट योग्य नठहरिएका शिक्षकलाई गोल्डेन ह्याण्डसेकको व्यवस्था गरेर सम्मान दिनुपर्ने माग जायज भएको बताए। साथै इसीडी, विद्यालय कर्मचारी, कार्यालय सहयोगीसँग सम्बन्धित विषयमा पनि राज्यले निर्णय गर्दा धेरै ठूलो व्ययभार नपर्ने भएकाले यस्ता मागलाई सदाको निम्ति हल हुने गरी सम्बोधन गर्नुपर्ने बताए।

‘राज्यले गम्भिर रुपमा बुझेर प्रचलित कानुनसँग नबाझिने गरी समस्या हल गर्नु अहिलेको आवश्यकता हो। शिक्षकलाई नै सम्मान गर्न सकिएन भने राज्य अराजकतातिर जान्छ। शिक्षक नै समाजलाई, युवालाई, विद्यार्थीलाई सचेत बनाउने र योग्य बनाउने जिम्मेवारी लिएको व्यक्ति हो। त्यसैले राज्यले सम्मान गर्नुपर्छ,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here