मुक्तक १
हुन त आफ्नो मान्छेको भर, सबैलाई हुन्छ
अरुको साथमा देख्दा असर, सबैलाई हुन्छ
बाटोमै हिँडिरहेकाहरूले पनि बाटो सोध्छन्
धोका पाइन्छ कि?भन्ने डर,सबैलाई हुन्छ।
मुक्तक २
मेरो आफ्नो सर्कलमा आफ्ना मान्छे छन्
कमि छैन दल बलमा आफ्ना मान्छे छन्
अलि अलि राजनीति सिक्नै पर्ने भयो
माथि मन्त्री मण्डलमा आफ्ना मान्छे छन्।
मुक्तक ३
तेरै छ आस,अनि तेरै छ,भर भगवान
माग्छु आज तँसँग एउटा वर भगवान
मात्तिएर कतै म, मान्छे बन्न भुलुँला
बेला बेलामा दु:ख दिँदै गर भगवान।
मुक्तक ४
कहिले काँडा कहिले फूल यिनै शब्द हुन्
समय अनुकूल र प्रतिकूल यिनै शब्द हुन्
यिनै शब्दले हो आज हाम्रो दूरी बढाएको
हिजो हामीलाई जोड्ने पुल यिनै शब्द हुन्
मुक्तक ५
कहिल्यै नदुखेको मन कसको छ र?
मुटु नजलेको दन दन कसको छ र?
अचेल यहि सोचेर चित्त बझाउँछु
चाहेको जस्तो जीवन कसको छ र?
दिनेश धामी
केदार स्युँ गा. पा वडा नं.७ जसुडा बझाङ