Home Breaking News द्वन्द्वपीडित परिवाहरुका लागि गण्डकी सरकारकाे सीपमूलक कार्यक्रम शुरु

द्वन्द्वपीडित परिवाहरुका लागि गण्डकी सरकारकाे सीपमूलक कार्यक्रम शुरु

सोमवार, मंसिर २२, २०७७
0
249

मङ्सिर २२, पाेखरा ।  गण्डकी प्रदेश सरकारले प्रदेशका पाँच जिल्लामा रहेका द्वन्द्वपीडितहरुका लागि सीपमूलक कार्यक्रम शुरु गरेको छ । प्रदेशका बागलुङ, गोरखा, तनहुँ, कास्की र लमजुङमा शहीद परिवार, अपाङ्गता भएका, बेपत्ता र द्वन्द्वपीडित व्यक्ति र परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रम शुरु गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको हाे ।

यो कार्यक्रमअनुसार बागलुङमा गोलभेँडा खेती र बाख्रापालनका लागि तालीम तथा बीउ पूँजी प्रदान गरिनेछ । यस बारेमा मन्त्रालयले आइतबार बागलुङका सरकारी निकाय, राजनीति दल, सामाजिक सङ्घ संस्थाका प्रमुखसँग अन्तक्रिया समेत गरेको छ ।

द्वन्द्वपीडित व्यक्ति तथा परिवारलाई राहत तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत गोलभेँडा खेतीतर्फ ३० र बाख्रापालनतर्फ ३० जनालाई तालीमका साथै प्रतिव्यक्ति गोलभेँडा खेतीका लागि रु ३० हजार र बाख्रापालनका लागि रु १५ हजार बीउ पूँजी प्रदान गरिने मन्त्रालयका उपसचिव काशीराज गैरेले जानकारी दिए । यो कार्यक्रमका लागि ३० दिनको म्याद राखेर आवेदन माग गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले जनयुद्ध र विभिन्न आन्दोलनमा प्रभावित भएका व्यक्ति र परिवारका लागि राज्यले निरन्तररूपमा सम्बोधन गर्ने प्रयास गरिरहेको बताए ।

मन्त्री चुमानलाई सरोकारवाला निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा पत्रकारले द्वन्द्वपीडितका लागि सीपमूलक कार्यक्रम राम्रो भए पनि बजेटको आकार सानो र प्रक्रियागत झन्झट बढी भएकाले यसलाई परिमार्जन गर्न आग्रह गरेका थिए ।

NO COMMENTS