Home Breaking News सर्वोच्च अदालतले संसद पुनस्थापना गर्छ : अध्यक्ष प्रचण्ड

सर्वोच्च अदालतले संसद पुनस्थापना गर्छ : अध्यक्ष प्रचण्ड

मङ्लबार, पुस १४, २०७७
0
215

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको एकता र जनताको अधिकारका लागि आफूहरू सडकमा गएको बताएका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘हामीहरू सडकमा आएको देखेर कोहीले खुसी मनाए। तर, हामीहरू सडकमा पुगेको नभई जनताको बीचमा पुगेका हौँ।’

अध्यक्ष प्रचण्डले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमा कलंकको टिका लगाएको बताए। ‘संविधान बनाउने बेलामा हामी संविधानसभाका दलहरूले छलफल गरेर नै त्यो व्यवस्था नराखेका हौँ। तर अहिले बडो निर्मम ढंगले संविधानको ‘कू’ गरियो’, उनको भनाई छ। नेपाली जनताको लामो संघर्ष र बलिदानपछि संविधान जारी गरिएको भन्दै ओलीले ३ करोड नेपाली जनताको भावनामा चोट पुर्‍याएकाले यसको विरोध गर्नु सबैको दायित्व भएको उनले बताए।

‘संविधानले दिँदै नदिएको र हुँदै नभएको कुरा प्रयोग गरेकाले सदन विघटन भएको होइन, जीवित छ। विघटन भएको केपी ओलीको सरकार हो,’ उनले भने, ‘मलाई विश्वास छ, सम्मानित अदालतले यति सामान्य कुरा बुझ्नेछ, बुझ्दैन भनियो भने अदालतप्रति अपमान ठहरिन्छ। छिटोभन्दा छिटो संविधानअनुसार सदन सुचारु गर्ने अदालतबाट आदेश आउनेछ भन्ने विश्वास गर्छु।’

तर अध्यक्ष प्रचण्डले केपी ओली जुन ढंगले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको हक अधिकारमाथि प्रहार गरेको भन्दै त्यो सैह्य हुन नसक्ने बताए। गत वर्षको केन्द्रीय समिति बैठक भव्य रूपमा सम्पन्न भएपछि ओलीले आफ्नो कुर्सी नै हटाइदिएको प्रसंग निकाल्दै अध्यक्ष प्रचण्डले त्यस बेला आफूले केपीलाई धन्यवाद दिएको बताए।

‘अहिले पनि ओलीले जनतामा जाने मुद्दा र नारा दिनुभयो। संविधान, संघीयता र जनतामा जाने मुद्दा दिनुभयो, अर्को चुनाव हामी जित्छौ, तपाईँलाई धन्यवाद भनेर भन्ने गरेको छु। बाजी हामीले जितेका छौ,’ उनको भनाई छ। उनले केही दिनको कुरा मात्रै हो भन्दै कसैले पनि चिन्ता लिनुपर्ने नभएकाले ऐतिहासिक जिम्मेवारी पुरा गर्न एकताबद्ध भएर जानुपर्ने बताए। अध्यक्ष प्रचण्डले केही साथीहरू लोभ गरेर उता गएको भन्दै उनीहरू फेरि फर्कने बताए।

NO COMMENTS