Home Breaking News प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने, काठमाडौँको भृकुटीमण्डपमा वृहद आमसभा

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज देशव्यापी विरोध प्रदर्शन गर्ने, काठमाडौँको भृकुटीमण्डपमा वृहद आमसभा

मङ्लबार, पुस १४, २०७७
0
252

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध मंगलबार देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले पुस १४ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता देशभर खटिइएका छन् ।

नेकपाले काठमाडौँको भृकुटीमण्डमा मध्याह्न १२ बजे सभा गर्ने जनाएको छ । सभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ । टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुल निकाल्ने तयारी गरेको नेकपा केन्द्रीय संघर्ष समितले जनाएको छ ।

टेकुबाट स्थायी कमिटी सदस्य युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट गिरिराजमणि पोखरेल र लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट देवेन्द्र पौडेल, लैनचौरबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, शान्तिबाटिकाबाट मुकुन्द न्यौपाने, त्रिचन्द्र क्याम्पसबाट योगेश भट्टराई र पूरानो बसपार्कबाट अमृतकुमार बोहोराले जुलुशको नेतृत्व गर्ने बताइएको छ ।

नेकपाले संसद् विघटनको विरुद्धमा जनप्रदर्शन गर्न सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार ५०१ सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा सडक सङ्घर्षमा उत्रिएको छ ।

NO COMMENTS