Home शिक्षा गोरखाको सिरानचोक गाउँपालिका, ग्लोबल आइएमई बैंक र उद्योग वाणिज्य संघ सिरानचोक इकाईबिच...

गोरखाको सिरानचोक गाउँपालिका, ग्लोबल आइएमई बैंक र उद्योग वाणिज्य संघ सिरानचोक इकाईबिच सहुलियतपुर्ण कर्जा सम्झौता

शुक्रबार, बैशाख १७, २०७८
0
303

सिरानचाेक, गोरखा। सहुलियतपुर्ण कर्जामा सहज पहुँचका लागि गोरखाको सिरानचोक गाउँपालिका, ग्लोबल आइएमई बैंक र उद्योग वाणिज्य संघ सिरानचोक इकाईबिच सम्झौता भएको छ । सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङ्ग, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ र ग्लोवलआइएमई बैंक लि का प्रदेश प्रमुख महेश सिलवालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सिरानचोक गाउँपालिकामा कृषि तथा पशुपंक्षीजन्य तथा अन्य क्षेत्रको व्यापार व्यवसाय प्रबर्धन गर्नका लागि सहयोग पुर्याउन तथा गाउँपालिकाको नीति अनुसार व्यवसायी बन्न चाहने वा व्यावसाय संचालन गरिरहेका उद्यमीलाई नेपाल राष्ट्र बैँकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ ( तेस्रो संशोधन सहित) अनुसार सम्झौता गरिएको हो ।

कार्यविधि अनुसार योग्यता पुगेका उद्यमीहरुलाई ऋण प्रवाह तथा ब्याज अनुदान दिई स्वरोजगारीको अवसर तथा उद्यम प्रवर्दन गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको ज्ञान, शीप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिला उद्यमशीलताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनिकिकरण गरी व्यवसायिकता अभिबृद्धि गर्ने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ ।

साथै जनजाती, सिमान्तकृत, अपांगता भएका ब्यक्ति तथा विपन्न बर्गलाई विशेष प्राथमिकता दिई आयआर्जनका लागि सहुलियतपूर्ण कर्जा प्रदान गरि उद्यमशिलता विकास तथा वित्तीय पहुँच बढाउने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघ अन्तरगत पूर्णिमा परियोजनाको प्राविधिक सहयोगमा त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा महिला उद्यमशिलता कर्जा, व्यवसायीक कृषि तथापशुपक्षीं कर्जा,शिक्षित यूवा स्वरोजगार कर्जा, बैदेशिक रोजगारीबाट फर्किएका यूवा परियोजनाकर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा,उच्च प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा,भुकम्प पिडितहरुको नीजि आवास निर्माण कर्जा तथा अन्य प्रदेश सरकार र राष्ट्र बैंकले ताकेको अन्य सहुलियतपूर्ण कर्जाहरु उपलब्ध गराउन सहकार्य गर्ने उल्लेख गरिएको छ ।

सम्झौता अनुसार गाँउपालिकाको सिफारिस र सहयोगमा बैंकले कर्जा प्रवाह गर्ने र सोको लागि आवश्यक कागजात एवं व्यवसायिक योजना निर्माणमा उद्योग वाणिज्य संघले सहजिकरण गर्ने उल्लेख गरिएको छ । नेपाल राष्ट्र बैंकले दिएको व्याजअनुदान अनुसार पुरुषको हकमा ५ प्रतिशत र महिलाको हकमा ६ प्रतिशत छुट हुने वताइएको छ ।

NO COMMENTS