Home Breaking News राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सरकारले आचारसंहिता उल्लंघन गरेको विपक्षीको आरोप

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सरकारले आचारसंहिता उल्लंघन गरेको विपक्षीको आरोप

बुधबार, जेष्ठ ५, २०७८
0
169

काठमाडौं । विपक्षी दलहरुले वाग्मती प्रदेशतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा सरकारले आचारसंहिताको उल्लंघन गरेको आरोप लगाएका छन् ।

सत्तारुढ दल नेकपा (एमाले) का उम्मेद्वार विरुद्ध गठबन्धन बनाएर चुनावी मोर्चामा होमिएका प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र माओवादी केन्द्रले सरकारले नै निर्वाचन आचारसंहितको बर्खिलाप हुने गरी गतिविधि अगाडि बढाएको आरोप लगाएका हुन् ।

भोलि हुने निर्वाचनमा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र कांग्रेस, माओवादी केन्द्र, जनत समाजवादी पार्टी (जसपा) र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको तर्फबाट डा खिमलाल देवकोटा उम्मेद्वार बनेका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले नै आचारसंहिता उल्लंघन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत पार्टीको उम्मेद्वारको पक्षमा प्रचारप्रसार गरेको भन्दै कारबाही गर्न माग गरेको हो ।

कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले आचारसंहिता विपरीत काम गर्ने जो सुकै भए पनि आवश्यक कारबाही गर्न माग गरेको हो ।

‘मौन अवधिमा चुनावको प्रचारप्रसार गरेको विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गर्न चाहन्छौं । आयोगले आचारसंहिता विपरीत काम गर्नेहरूलाई आवश्यक कारबाही गर्नुपर्दछ भन्ने हाम्रो संसदीय दलको माग छ ।’, कांग्रेसले भनेको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता विपरीत मत माग्नु संविधान, कानुन र विधिको शासनको बर्खिलापमा भएको कांग्रेसको ठम्याइ छ ।

विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रले पनि मौन अवधिमा प्रधानमन्त्रीले आफ्ना उम्मेद्वारको पक्षमा मत माग्दै अपिल गरेको भन्दै तत्काल कारबाही गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

माओवादीले स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भए पनि यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलापमा रहेको बताएको छ ।

‘ यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ’, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भनेका छन्, ‘यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ रु प्रधानमन्त्रीको यस कार्यको निन्दा र भर्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।’

प्रधानमन्त्री ओलीले आज मात्रै अपिल जारी गर्दै पार्टीका उम्मेदवार थापालाई मत दिन आग्रह गरेका थिए । त्यस्तै एमालेको निर्वाचन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले पनि आजै थापाको पक्षमा मतदान गर्न र पार्टी निर्णयविपरित अन्तरघात भए कारबाही गर्ने चेतावनी दिएका छन् ।

NO COMMENTS