Home Breaking News ऐतिहासिक लिगलिग क्षेत्रमा पहिराेकाे वितण्डा, वर्षातका कारण उद्धारमा सकस

ऐतिहासिक लिगलिग क्षेत्रमा पहिराेकाे वितण्डा, वर्षातका कारण उद्धारमा सकस

बिहिबार, असार १७, २०७८
0
453

गोरखा जिल्लास्थित ऐतिहासिक लिगलिगकोट क्षेत्रमा अविरल वर्षाको कारण आज २०७८ असार १७ गते बिहान ६ः०० बजेको समयमा अचानक ठूलो पहिरो गएको छ । करिब ७०० वर्षदेखि यताको इतिहास अध्ययन गर्दा यस क्षेत्रमा बाढी पहिरो गएको स्थानीय नागरिकहरुले जानकारी दिएका छन् । निरन्तर परिररहेकाे वर्षातका कारण उद्धारमा समेत सकस भएकाे छ ।

नेपाल एकीकरणको आरम्भिक बिन्दु लिगलिगकोटस्थित हाल पुननिर्माण भइरहेको दरबार क्षेत्र (जहाँ नेपालको सबैभन्दा ठूलो झण्डा राखिएको छ) को पश्चिम मैबल गाउँतर्फको भागतिरबाट बगेको पहिरोले मैबल गाउँको पूर्वी भाग रुसेपानी, भोगटेनीबारी हुँदै राउतेपानी गाउँको बीच भागबाट तल लामाखेतसम्मका धेरैजसो भाग बगरमा परिणत भएका छन् ।

यस बीचमा पर्ने घर, गोठ, पानी ट्याङ्की, खेतबारी र सडकहरुमा क्षति पुगेको छ । अधिकांश ठाउँमा विजुलीका पोलहरु ढलेका छन्, पिउनेपानीको ट्याङ्की र पाइपहरु बगाएका छन् । बस्तीहरु जोखिममा परेका छन् । सडक पूर्णत अवरुद्ध छन् । राउतेपानी गाउँका मानिसहरुलाई तत्कालका लागि सगरमाथा प्राथमिक विद्यालयमा बसोबासको व्यवस्था गरिएको छ ।

लिगलिगकोटको पूर्वी भागमा अवस्थित खोल्ली गाउँमा ठकुरी गाउँका केही घर, गोठहरु पुरिएको अवस्था छ भने ढाँक्रेस्वाँरामा पनि केही घरहरु बगेका छन् । बिहानको समय भएका कारण मानवीय क्षति भएको छैन । कतिपय ठाउँमा पशु चौपायाहरु पुरिएका छन् । केहीकाे उद्धार गरिएकाे छ ।

घरमा भएका लुगाफाटा, भाँडाकुँडादेखि अन्नपात झिक्न पाएको अवस्था छैन । क्षतिग्रस्त घर तथा जोखिमयुक्त क्षेत्रका वासिन्दाहरु वरपरको सुरक्षित स्थानका घरहरु र विद्यालयमा जम्मा भएर बसेको अवस्था छ । विशेषगरी खोल्लीगाउँ, कोटगाउँ, ठूलो वन क्षेत्र, मैबल, राउतेपानी, पाच्यान, ढाँक्रेस्वाँरा क्षेत्रमा बढी क्षति पुगेको देखिन्छ । पहिरो बगेको ठाउँहरुको विभिन्न भागबाट ठुल्ठूला पानीको मुल पलाएको अवस्था छ । क्षतिग्रस्त क्षेत्रमा गाउँबासीहरुदेखि स्थानीय नागरिक, रेडक्रसका स्वमसेवकहरु, जनप्रतिनिधिहरु र नेपाल प्रहरीहरु अवलोकनका साथै उद्दार कार्यमा जुटिरहेका छन् ।

२०७२ को विनासकारी भूकम्पले जमिन हल्लाएको, चिरिएको र यतिखेर भएको अविरल वर्षाका कारण जमिन कमजोर भई पहिरोमा परिणत भएको देखिन्छ । वर्षात थामिएन भने अझै बढी क्षति हुने संभावना रहेकाले सजग रहन र सुरक्षा निकायहरुलाई पूर्ण तयारी अवस्थामा राख्नुपर्ने देखिन्छ भने घरवारविहीन स्थानीय वासिन्दाहरुको खानपिन र बसोबासको लागि तत्काल व्यवस्था गर्नुपर्ने देखिन्छ ।

यो आपतकालीन अवस्था र मानवीय संवेदनाको विषय भएकाले लिगलिग क्षेत्रका वासिन्दाहरुका लागि सहयाेग गर्न स्थानीय अगुवाहरुले आग्रह गरेका छन् ।

यसैवीच आज नेपाल रेडक्रस साेसाइटी आपँपिपल र पालुङटार उपशाखाले पहिराेबाट घर विस्थापित भएका नागरिकहरुका लागि अत्यावश्यक सामग्री व्यवस्थापन गरेका शाखाका मन्त्री राजेन्द्र न्याैपानेले बताए । घाइतेलाइ उद्धार गरी उपचारका लागि पाेखरा पठाइएकाे छ । खानेपानीकाे समस्या रहेकाले समाधानकाे खाेजी भइरहेकाे उनले बताए । राहत लिएर गएकाे रेडक्रसकाे गाडी हर्मी स्थित सापकाेटा गाउँबाट फर्किएकाे छ, मन्त्री न्याैपानेले भने ।

NO COMMENTS