Home Breaking News नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा गाेरखाबाट २०३ जना अर्थात...

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिमा गाेरखाबाट २०३ जना अर्थात २४ प्रतिशत सहभागिता रहने

शुक्रबार, मंसिर २४, २०७८
0
516

पाेखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनमा ८४६ प्रतिनिधि सहभागी हुने भएका छन् । कूल सहभागिताकाे २४ प्रतिशत सहभागिहरु गाेरखाका रहने भएका छन् । जिल्लाकाे भूगाेलबाट आएका १५५ जना, मनाेनित ६ जना, केन्द्रिय सल्लाहाकार जेष्ठ कम्युनिष्ट गरी ११ जना, प्रदेश सल्लाहाकार १२ जना , प्रदेश आयाेजक १५ जना, केन्द्रिय सदस्य ४ जना गरी कुल २०३ जना गाेरखाबाट सहभागि हुने माओवादी केन्द्रका गाेरखा जिल्ला अध्यक्ष लेख बहादुर थापाले जानकारी दिए । अधिवेशनमा सहभागी हुने कुल सँख्याकाे २४ प्रतिशत गाेरखाबाट सहभागि हुने भएका हुन् ।

मङ्सिर २५ र २६ गते पोखरा सभागृहमा हुने अधिवेशनमा प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तह, मनोनित प्रतिनिधि,आयोजक समिति सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च र प्रदेश सल्लाहाकार गरी सो सङ्ख्यामा प्रतिनिधि सहभागी हुने विहिबार सो पार्टीले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको थियाे ।

प्रदेशको अधिवेशनमा पालिकाहरुबाट निर्वाचित ६०० जना, मनोनित ६०, आयोजक ९६, ज्येष्ठ कम्युनिष्ट मञ्चका ४३ र प्रदेश सल्लाहकार ४७ जना सहभागी हुने माओवादी केन्द्र गण्डकीका इन्चार्ज हितराज पाण्डेले जानकारी दिएका छन् ।

पाण्डेका अनुसार एक गैरभौगोलिक शाखा सहित एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकामा पार्टीका अधिकांस अधिवेशनहरु सम्पन्न भई पालिका समितिहरु निर्वाचित भएका छन् । माओवादीले विविध कारणले हालसम्म पनि अधिवेशन सम्पन्न नभएका पालिकाहरुमा सङ्गठन समिति गठन गरी पार्टी कामलाई अगाडि बढाइएको जनाएको छ ।

गण्डकी प्रदेशको अधिवेशनबाट कम्तीमा महिला ३५ प्रतिशत, युवा २० प्रतिशत, दलित १९ प्रतिशत र मुस्लिम तथा सिमान्तकृतहरुको सहभागिता सहित प्रदेश समिति निर्वाचित गरिने गण्डकी प्रदेश समितिका प्रवक्ता  समेत रहनुभएका देवेन्द्र पराजुलीले बताए ।

अधिवेशनबाट प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष तथा सचिव, सहसचिव  ३ र कोषाध्यक्ष एक/एक जना गरी नाै सदस्यिय पदाधिकारी सहित २२९ सदस्सीय प्रदेश समिति निर्वाचित हुने माओवादीले जनाएको छ ।

अधिवेशन विचार निर्माण र सङ्गठनात्मक काममा मुख्य गरी केन्द्रीत रहने बताइन्छ । प्रदेश इन्चार्ज पाण्डेले भने,“माओवादी केन्द्रलाई गण्डकी प्रदेशमा प्रमुख शक्तिका रुपमा स्थापित गर्ने गरी सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने भन्ने बारेमा अधिवेशनमा गहन छलफल गछौँ ।”

माओवादीले पार्टी विधान अनुसार अधिवेशनबाट सर्वप्रथम कमिटी निर्वाचित गर्ने र निर्वाचित कमिटीले नेतृत्व तथा अन्य पदाधिकारी चयन गर्ने जनाएको छ ।

अधिवेशनका अवसरमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्ने र जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न क्षेत्रसँग सम्बन्धीत व्यक्ति र उहाँहरुको परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको प्रवक्ता पराजुलीले जानकारी दिए ।

गण्डकीमा स्थायी बसोबास भएका पार्टी स्थायी समितिका सदस्य, केन्द्रीय समितिका सदस्य,प्रतिनिधि सभाका सांसद, केन्द्रीय सल्लाहकार र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सदस्यहरुलाई अधिवेशनमा आतिथ्यका लागि निमन्त्रणा गरिएको जनाइएको छ ।

माओवादी केन्द्रको सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशको प्रथम अधिवेशनको मङ्सिर २५ गते एकैसाथ अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

NO COMMENTS