गाेरखा ३० असार । जिल्लाकाे आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बु स्थित श्यामचेतमा पहिरो जाँदा ४० घर बिस्थापित भएका छन् । बुधवार साँझ गएको पहिरोले तीनवटा धन्सार घर बगाएको र अन्य करिब ४० वटा भन्दाबढि घर जोखिममा परेको हो ।
जोखिमा रहेका घरबाट बुधवार राती स्थानीय सुरक्षित ठाउँमा सरेको र अन्नपात, पशुबस्तु भने बिहिवार बिहान सारिएको आरुघाट गाउँपालिका उपाध्यक्ष कल्पना नेपालीले बताउनुभयाे । ‘केही बस्तुभाउ बगाएको, मरेको छ, सहायताले उद्धार गरिरहेका छौँ’ उनले भनिन ।
बिस्थापितहरु कोही आफन्तको घरमा, गुम्बामा, सिद्धार्थ बनस्थली आधारभुत विद्यालयमा अस्थायी रुपमा बस्ने तयारीमा छन् ।
पहिले तीन तहमा जाली भरेर गाउँलाई पहिरोबाट जोगाइएको वडा अध्यक्ष सुर्य घलेले बताए । पहिलो तहको जाली नाघेर दोस्रो र तेस्रो तहको जाली भत्काएर पहिरो गाउँको बिच भागबाट बग्याे । पहिरोको बिचमा पर्ने ३० घर र वरपरका अन्य १० घरमा तत्काल मान्छे बस्न खतरा रहेको उनकाे भनाइ छ ।
गाउँपालिका अध्यक्ष राजु गुरुङले पहिरो नियन्त्रणका लागि दिगो रुपमा काम हुन नसकेको बताउँदै थप अध्ययन गरेर अघि बढ्ने बताए । नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी लगायतको टोली बुधवार राती नै पहिरो गएको ठाउँमा पुगेर स्थानीयलाई सुरक्षित ठाउँमा सारेको र बिहिवार बिहान फेरी पनि पहिराे गएकाे मानवीय क्षती भने नभएको गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।