तनहुँ । आँवुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले शिक्षा काेष निर्माणका लागि जनप्रतिनिधिहरुकाे भत्ता लगानी गर्ने बताएका छन् । पालिका भित्र रहेका प्रधानाध्यापकहरुकाे बैठकलाइ सम्बाेधन गर्दै अध्यक्ष चुमानले भने, जनप्रतिनिनिधहरुले पाउने पारीश्रमिकबाट थालनी गरेर शिक्षाकाेष निर्माण गरी दुखका समयमा त्यसलाइ परिचालन गरिन्छ । शिक्षामा अघिल्लाे साल भन्दा तीनगुणा बजेट विनियाेजन गर्दा पनि अपुग भएकाे र आगामि दिनमा त्यसलाइ सुधार गर्दै जाने बताए ।
हामीले विद्यालयहरुलाइ बस प्रदान गर्दैछाैँ । यसले टाढाबाट विद्यालय जाने बालबालिकाहरुका लागि सहज हुनेछ । शिक्षक सँख्या कम भएका विद्यालयमा पालिकाकाे आन्तरिक स्राेतबाट १२ जना शिक्षक प्रदान गरेका छाैँ । आवश्यकताका आधारमा फेरी पनि स्राेतकाे व्यवस्थापन गरेर हामी शिक्षक थप गर्दै जानेछाैँ ।
विद्यालयकाे अत्यावश्यक कामहरु जस्तै खानेपानी, शाैचालय,छानाे चुहिने समस्याहरु तत्काल समाधान गर्न आवश्यक रहेकाेले समस्याहरु पेश गर्न उनले अनुराेध गरे । विद्यालयलाइ उत्पादनसँग जाेड्न जरुरी रहेकाे उनले बताए । विद्यालय खाजामा स्थानीय उत्पादनलाइ जाेड दिनु पर्दछ । प्रधानाध्यापकहरुले स्थानीय उत्पादनमा प्राेत्साहन गर्नुहुन अनुराेध गर्दछु, स्थानीय उत्पादनलाइ प्राथमिकता दिने विद्यालयका लागि पालिकाले प्राेत्साहन गर्दछ ।
विद्यालयमा आएर एकदुइ थान पाेशाक र दुइचार दर्जन कापी कलम लिएर आउने कुनै पनि व्यक्ति सँघ सँस्थालाइ प्रवेश दिनु उपयुक्त हुँदैन । एउटा बालबालिकाकाे वार्षिक,अर्धवार्षिकका लागि गैर खाद्य सामग्रीकाे जिम्मा लिनेलाइ मात्र अनुमति दिन सकिने उनले बताए । पालिकाले विद्यालयकाे शैक्षिक सुधारका लागि कसैसँग पनि सम्झाैता गर्दैन । विद्यालय शिक्षा सुधार हुनु अनिवार्य छ,भएका समस्या समाधान गर्न पालिका तयार रहेकाे छ । आँवुखैरेनी गाउँपालिका भित्रका विद्यालयहरुलाइ समायाेजन गरी स्विमिङपुल सहितकाे विद्यालय बनाउन पनि पालिका पछि नपर्ने उनले बताए । एउटा विद्यालयमा दुइ हजारका जना विद्यार्थी जम्मा गरेर शिक्षण गर्ने नीति लिइने उनले बताए ।