गाेरखा । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औं महाधिवेशनले देवीदत्त आचार्यको अध्यक्षतामा ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले आगामी तीन वर्षमा कार्यान्वयन गर्ने गरी ३८ बुँदे बुटवल घोषणा–पत्र पनि जारी गरेको छ ।
बुटवलमा २७ गतेदेखि २९ गतेसम्म चलेको महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा अमरबहादुर गुरुङ, महिला उपाध्यक्षमा शोभा कार्की, महासचिवमा कुमार रेग्मी, सचिवमा अस्विन लम्साल, कोषाध्यक्षमा रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा मीरा तामाङ, पुस्विन खत्री, सुनिता थापा, अर्जुन रावल, भेगीकुमारी पुन मगर, झम्कप्रसाद गौतम, लक्ष्मी काफ्ले, जगदीशप्रसाद अर्याल, जानुका रोक्का, दीपक अधिकारी, सूर्यकृष्ण चौलागाई निर्वाचित भएका छन् ।
यस्तै नन्दराज भट्ट, इच्छा केसी, गिरीधारी सुवेदी, काशीराम न्यौपाने, पुष्पराज रिमाल, दिलकुमारी देवकोटा, नथुनी हलुवाई, विनिताकुमारी यादव, रामचन्द्र यादव, सुनिता तामाङ, पदमबहादुर पुन, सीता विश्वकर्मा, परशुराम आचार्य, नेत्रप्रसाद सापकोटा, रमेश पोख्रेल, कुमार पौडेल, रामकृष्ण न्यौपाने सदस्यमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनले आगामी साधारणसभाबाट गैरराजनीतिक चरित्र, राजनीति दलका भ्रातृ संगठनहरूको हस्तक्षेपलाई निस्तेज गर्न विधान संशोधन गरी राजनीति दलका सक्रिय सदस्य नहुने वा त्यागेकाहरू मात्र महासंघको नेतृत्व तहमा आउन पाउने कुराको सुनिश्चितता गर्ने निर्णय गरेको छ । अधिवेशनले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार र मर्यादाका लागि आगामी तीन वर्षसम्म राज्य र सम्बद्ध निकायलाई जिम्मेवार बनाउनका लागि ३८ बुँदे घोषणा–पत्र जारी गरेको अध्यक्ष आचार्यले बताए ।
जारी घोषणा–पत्रमा नीतिगत सुधार, पहुँचयुक्तता र सूचना प्रविधि, स्वास्थ्य, पुनः स्थापना र सहायक सामग्री, शिक्षा, रोजगार र सशक्तीकरण, संस्थागत विकास र सुशासन, सामाजिक न्याय र सुरक्षा लगायतका विषयहरू समावेश गरिएको छ । साथै महासंघ विशुद्ध अपाङ्गता भएका व्यक्तिहरूको हक हित र अधिकारमा केन्द्रित हुने उनले बताए । अधिवेशनमा देशभरका अपाङ्गतासम्बन्धी ४ सय २४ संस्थाबाट ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका थिए । अधिवेशन स्थलमा केही प्रतिनिधिहरूले नेतृत्व चयनप्रति असन्तुष्टि जनाउँदै नाराबाजी र होहल्ला पनि गरेका थिए । त्यसमा आफूहरूले महासंघलाई विशुद्ध गैरराजनीतिक बनाउन खोजेको तर विभिन्न राजनीतिक दलमा आबद्ध प्रतिनिधिहरूले विद्रोह गर्न खोजेपछि केही हल्ला भएको उनले बताए ।
नेपालमा राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको २ दशमलव २५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरू रहेको देखिए पनि महासंघको तथ्याङ्कमा १५ लाख बढी अपाङ्गगता भएका सदस्यहरू रहेको महासचिव कुमार रेग्मीले बताए ।






