कर्मचारीको स्वास्थ्य सुरक्षामा आँपपिपल अस्पतालको पहल

- स्वास्थ्य बिमा प्रिमियममा ५० प्रतिशत सहयोग

-


     कविराज ढकाल    
     श्रावण २० गते २०८३ मा प्रकाशित


गोरखा । गोरखास्थित आँपपीपल अस्पतालले अस्पतालमा कार्यरत कर्मचारीलाई नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुन प्रोत्साहन गर्ने उद्देश्यले स्वास्थ्य बिमा प्रिमियमको ५० प्रतिशत रकम अस्पतालले व्यहोर्ने निर्णय गरेको छ। अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष पार्वतीदेवी पाठकका अनुसार उक्त सुविधा प्राप्त गर्न कर्मचारीले स्वास्थ्य बिमाको प्रिमियम रकम सुरुमा आफ्नै खर्चमा भुक्तानी गर्नुपर्नेछ।

त्यसपछि आफ्नो नाममा जारी भएको आधिकारिक बिल वा रसिद भुक्तानी गरेको मितिले तीन महिनाभित्र अस्पतालमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र आवश्यक कागजात पेश गरेका कर्मचारीलाई अस्पतालले स्वास्थ्य बिमा प्रिमियमको ५० प्रतिशत रकम उपलब्ध गराउनेछ। अध्यक्ष पाठकले कर्मचारीको स्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउन तथा स्वास्थ्य बिमा कार्यक्रममा सहभागिता बढाउन यो निर्णय गरिएको बताइन्।

उनका अनुसार यस व्यवस्थाले कर्मचारीको उपचार खर्चसँग सम्बन्धित आर्थिक भार कम गर्नुका साथै स्वास्थ्य बिमाप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उनले अस्पतालले सेवा प्रवाहसँगै कर्मचारीको सामाजिक सुरक्षा र कल्याणलाई समेत प्राथमिकतामा राख्दै यस्ता कर्मचारीमैत्री निर्णयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।