
गोरखा । शरद ऋतुमा सबैभन्दा धेरै आरोहण गरिने मनास्लु हिमालको आधार शिविर यतिबेला आरोही तथा उनीहरूका सहयोगीले भरिन थालेको छ।
आठ हजार एक सय ६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणका लागि यस सिजनमा ३८ टोलीका चार सय ५१ जना आरोहीले अनुमति लिएका छन्। अनुमति लिनेमा तीन सय ३१ जना पुरुष र एक सय २० जना महिला रहेका छन्।
आरोहीमध्ये अधिकांश गोरखाको चुमनुब्री गाउँपालिका–१ मा पर्ने सामागाउँ पुगिसकेका छन्। कतिपय भने आधार शिविरमै पुगिसकेका छन्। सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाका अनुसार आरोही र उनीहरूका सहयोगीका कारण स्थानीय होटल तथा आधार शिविरमा चहलपहल बढेको छ।
आरोहीहरू काठमाडौं तथा आर्खेत, सोती र आरुघाटबाट हेलिकोप्टर चार्टर गरेर सामागाउँ पुग्ने गरेका छन्। केही आरोही भने मनाङतर्फबाट पैदल यात्रा गर्दै सामागाउँ आउने गरेका छन्।
आरोहणका लागि आवश्यक सामग्री पनि हेलिकोप्टर र खच्चडमार्फत सामागाउँसम्म पुर्याउने गरिएको छ। हेलिकोप्टरमा लैजान मिल्ने सामग्री हवाईमार्गबाट र लामा तथा ठूलो आकारका सामग्री खच्चडमार्फत ढुवानी गर्ने गरिएको स्थानीयको भनाइ छ।
सामागाउँबाट भने आरोहीका सामान स्थानीय बासिन्दाले बोकेर आधार शिविरसम्म पुर्याउने गरेका छन्। अहिले आरोही आउने क्रमसँगै उनीहरूका सामग्री ढुवानी गर्ने काम पनि तीव्र रूपमा भइरहेको स्थानीय नाङ्सेल छोदेन लामाले जानकारी दिनुभयो।
उहाँका अनुसार मनास्लु आरोहणका लागि आवश्यक रोप फिक्सिङको कामसमेत सम्पन्न भइसकेको छ।
पर्यटन विभागका अनुसार शरद ऋतुमा हालसम्म विभिन्न हिमाल आरोहणका लागि ४५ टोलीका चार सय ९८ जना आरोहीले अनुमति लिएका छन्। तीमध्ये मनास्लु आरोहणका लागि मात्रै ३८ टोलीका चार सय ५१ जना आरोही छन्।
मनास्लु आरोहणका लागि जारी अनुमतिबाट मात्रै हालसम्म २० करोड ५५ लाख ८१ हजार ७ सय ५० रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागले जनाएको छ। शरद ऋतुका लागि विभिन्न हिमालबाट विभागले कुल २१ करोड १० लाख ८५ हजार ७ सय ५० रुपैयाँ रोयल्टी सङ्कलन गरिसकेको छ।
आरोहीहरू सामागाउँ तथा आधार शिविर क्षेत्रमा करिब एक सातादेखि एक महिनासम्म अभ्यास गरेपछि मनास्लु हिमाल आरोहण गर्ने गर्छन्।
मनास्लु हिमालको पहिलो सफल आरोहण सन् १९५६ मा जापानी नागरिक तासी इमानुसी र ग्याल्जेन नोर्बु शेर्पाले गर्नुभएको थियो।




