पूर्ण अशक्त दम्पतिलाई पालुङटार नगरपालिकाद्वारा अपाङ्गमैत्री आवास हस्तान्तरण

- ५ लाख ८३ हजार रुपैयाँ लागतमा निर्मित घर हस्तान्तरण, सुरक्षित आवासले सम्मानपूर्ण जीवनयापनमा टेवा पुग्ने विश्वास

-


     राजेन्द्र न्याैपाने    
     श्रावण २० गते २०८३ मा प्रकाशित


अपाङ्गता भएका व्यक्तिहरूको सुरक्षित आवासको अधिकार सुनिश्चित गर्दै जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले पालुङटार नगरपालिकाले वडा नं. ४ का जङ्गबहादुर कार्कीलाई नवनिर्मित आवास भवन हस्तान्तरण गरेको छ। कार्की ‘क’ वर्गका पूर्ण अशक्त अपाङ्गता भएका व्यक्ति हुन् भने उहाँकी श्रीमती सुनिता घर्ती नेपाली ‘ख’ वर्गकी अपाङ्गता भएकी व्यक्ति हुनुहुन्छ। उक्त भवन रु. ५ लाख ८३ हजार लागतमा निर्माण गरिएको छ।

भवनमा एक बैठक कोठा, एक शयनकक्ष, एक भान्सा कोठा तथा शौचालयसहितको स्नानघर निर्माण गरिएको छ, जसले अपाङ्गता भएका दम्पतीको दैनिकीलाई सहज र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै लाभग्राही जङ्गबहादुर घर्तीले पालुङटार नगरपालिकाले निर्माण गरेर उपलब्ध गराएको आवास आफ्नो परिवारका लागि ठूलो सहारा बनेको बताउनुभयो।

उहाँले अपाङ्गता भएका व्यक्तिहरूका लागि सुरक्षित आवास जीवनको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै नगरपालिकाले देखाएको संवेदनशीलता र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। साथै यस्ता कार्यक्रमले अपाङ्गता भएका नागरिकमा आत्मविश्वास बढाउनुका साथै सम्मानपूर्वक जीवनयापन गर्न थप हौसला मिल्ने विश्वास व्यक्त गर्नुभयो।

नगरपालिकाले लक्षित वर्गको आवश्यकता पहिचान गरी सञ्चालन गरिरहेको यस्तो कार्यक्रमले सामाजिक न्याय, समावेशिता र मानवीय सेवाको भावना व्यवहारमा उतारेको स्थानीयवासीले बताएका छन्। पालुङटार नगरपालिकाले आगामी दिनमा पनि यस्ता लक्षित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।