गोरखा । गोरखाको पालुङटार नगरपालिका र काठमाडौंको टोखा नगरपालिकाबीच आपसी मित्रता, अनुभव आदान–प्रदान तथा दिगो विकासलाई संस्थागत गर्ने उद्देश्यसहित ‘भगिनी सम्बन्ध (Sister City Relationship) औपचारिक रूपमा स्थापना गरिएको छ ।
सोमबार पालुङटार नगरपालिकाको सभाहलमा आयोजित विशेष समारोहमा पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तन र टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले समझदारी–पत्र (एमओयू) मा हस्ताक्षर गर्दै दुई नगरपालिकाबीचको ऐतिहासिक सहकार्यको औपचारिक घोषणा गर्नुभएको हो ।
कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख, दुवै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै नगरपालिकाका जनप्रतिनिधिले यो सम्बन्ध औपचारिकतामा मात्र सीमित नरही विकासका विविध क्षेत्रमा परिणाममुखी सहकार्यका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।
समझदारी–पत्रअनुसार दुवै नगरपालिकाले सुशासन, प्रभावकारी सेवा प्रवाह, भौतिक पूर्वाधार विकास, शहरी व्यवस्थापन, वातावरण संरक्षण, विपद् जोखिम न्यूनीकरण, शिक्षा, स्वास्थ्य, पर्यटन, संस्कृति, कृषि, उद्यमशीलता, आर्थिक तथा सामाजिक विकास लगायतका क्षेत्रमा अनुभव आदान–प्रदान, प्राविधिक सहयोग र संस्थागत सहकार्यलाई प्रभावकारी रूपमा अघि बढाउने सहमति गरेका छन् ।
जनप्रतिनिधि तथा कर्मचारीहरूको अध्ययन अवलोकन भ्रमण, सफल अभ्यासहरूको आदान–प्रदान, विकास योजना तथा नीतिगत अनुभव साझेदारी, पर्यटन प्रवद्र्धन, सांस्कृतिक कार्यक्रम सञ्चालन, निजी क्षेत्रबीच सहकार्य विस्तार, कृषि उत्पादनको बजारीकरण तथा स्थानीय आर्थिक गतिविधिलाई सुदृढ बनाउने विषयमा समेत दुवै नगरपालिकाबीच समझदारी भएको छ ।
समारोहलाई सम्बोधन गर्दै टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले आफ्ना पितापुर्खा वर्षौंअघि गोरखाबाट टोखा बसाइँ सरेको स्मरण गर्दै गोरखासँग आफ्नो भावनात्मक सम्बन्ध पुरानै रहेको उल्लेख गर्नुभयो । उहाँले पालुङटार र टोखाबीच स्थापित भगिनी सम्बन्धले दुई नगरपालिकाबीचको ऐतिहासिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै विकास साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले पालुङटार नगरपालिका–५ स्थित चारकुने बाँझ क्षेत्रमा पालुङटार र टोखा नगरपालिकाको संयुक्त लगानीमा ‘टोखा–पालुङटार खुला व्यायामशाला’ सहितको मैत्रीपूर्ण पार्क निर्माण गर्ने सहमति भएको जानकारी दिनुभयो । उक्त परियोजनाले स्थानीय नागरिकका लागि मनोरञ्जन, स्वास्थ्य प्रवद्र्धन तथा आन्तरिक पर्यटन विकासमा योगदान पुर्याउने विश्वास उहाँको थियो ।
कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले पालुङटारमा उत्पादन हुने कृषि उपज, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी तथा अन्य स्थानीय उत्पादनलाई काठमाडौं उपत्यकाको प्रमुख बजार टोखामार्फत प्रवद्र्धन र बजारीकरण गर्ने योजना रहेको बताउनुभयो। उहाँले यस सहकार्यबाट किसानको आम्दानी वृद्धि, स्थानीय उत्पादनको मूल्य अभिवृद्धि तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।
नगर प्रमुख चिन्तनले भगिनी सम्बन्धलाई कागजी सम्झौतामा मात्र सीमित नराखी दुवै नगरपालिकाका नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी कार्यान्वयन गरिने बताउँदै शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, वातावरण संरक्षण, सूचना प्रविधि तथा सुशासनका क्षेत्रमा साझा कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा पालुङटार नगरपालिकाको भौगोलिक, ऐतिहासिक तथा आर्थिक सम्भावनाबारे पनि चर्चा गरिएको थियो । चेपे र दरौंदी नदीको बीचमा फैलिएको पालुङटार नगरपालिका प्राकृतिक सौन्दर्यले भरिपूर्ण, उर्वर कृषि भूमि, हरियाली वन, स्वच्छ वातावरण तथा सहज यातायात पहुँच भएको गोरखा जिल्लाको महत्वपूर्ण नगरपालिका हो। प्राकृतिक स्रोत–साधनले सम्पन्न यस क्षेत्र कृषि, पशुपालन, पर्यटन, साना उद्योग, जलस्रोत तथा ग्रामीण आर्थिक विकासका दृष्टिले अत्यन्त सम्भावनायुक्त मानिन्छ ।
नेपालको ऐतिहासिक उद्गमस्थलका रूपमा परिचित लिगलिगकोट यसै नगरपालिकाभित्र पर्दछ ।
लिगलिगे दौडको ऐतिहासिक परम्परा, धार्मिक तथा सांस्कृतिक सम्पदा, प्राकृतिक दृश्यावलोकन र ग्रामीण जीवनशैलीले पालुङटारलाई आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्य बनाउने प्रशस्त सम्भावना रहेको सरोकारवालाहरूले बताएका छन् । योजनाबद्ध लगानी, पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसार गर्न सके पालुङटार गण्डकी प्रदेशकै नमुना पर्यटन तथा कृषि केन्द्रका रूपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गरिएको छ ।
टोखा नगरपालिका काठमाडौं उपत्यकाको ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक महत्व बोकेको नगरपालिकाका रूपमा परिचित छ भने पालुङटार नगरपालिका ऐतिहासिक सम्पदा, प्राकृतिक सौन्दर्य र कृषि उत्पादनको सम्भावना बोकेको नगरपालिकाका रूपमा विकसित हुँदै गएको छ । फरक भूगोल र विकास अनुभव भएका यी दुई नगरपालिकाबीचको सहकार्यले एकअर्काका सफल अभ्यास सिक्ने, स्रोत–साधनको प्रभावकारी उपयोग गर्ने तथा नागरिकको जीवनस्तर उकास्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
पालुङटार नगरपालिकाले काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पहिचान बोकेको टोखा नगरपालिका र नेपालको ऐतिहासिक उद्गमस्थल लिगलिगकोट रहेको पालुङटार नगरपालिकाबीच स्थापित यो भगिनी सम्बन्धले स्थानीय विकास, सुशासन, पर्यटन प्रवद्र्धन, कृषि उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण तथा जनस्तरको आपसी सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।
नगरपालिकाका अनुसार यो सहकार्यले दुई स्थानीय तहबीच दीर्घकालीन मित्रता, साझा विकास, आर्थिक समृद्धि र संस्थागत सहकार्यको यात्रामा नयाँ आयाम थप्नेछ । साथै आगामी दिनमा संयुक्त कार्ययोजना तयार गरी विभिन्न विकास कार्यक्रम, अध्ययन भ्रमण, सांस्कृतिक आदान–प्रदान, पर्यटन प्रवद्र्धन तथा आर्थिक साझेदारीका गतिविधि चरणबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ ।






