पूर्व प्रधानमन्त्री भट्टराई सहितका दलहरुले गोरखामा उम्मेदवारी दर्ता गराए

मङ्लबार, माघ ७, २०८२
0
132

 अभिषेक तामाङ

६ माघ, गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ मा प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोप) बाट पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी दिनुभएको छ ।
मंगलवार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराउनुभएको हो । भट्टराईको प्रस्तावकमा नारायण खत्री र समर्थकमा रिजन राना मगर छन् ।

सोही निर्वाचनका लागि गोरखा २ बाट लेखनाथ न्यौपानेले उम्मेदवारी दर्ता गर्नु भएको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उम्मेदवार रहेका न्यौपानेले मंगलवार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृत कार्यालय पुगेर मनोनयन दर्ता गर्नुभएको हो । प्रस्तावकमा बिशेश्वर कट्टेल र समर्थकमा भगवती तिवारी रहेका छन् । सरल नेता मानिने न्यौपाने पहिलो पटक चुनाव लड्दै छन् ।

चुनाव नलड्ने बताउँदै आएका भट्टराईल आइतवार मात्रै चुनावमा उठ्ने घोषणा गर्नुभएको थियो । उहाँले मनासलुसँग कुराकानी गर्दै समयको आवश्यकताले आफूले उम्मेदवारी दिएको र आफूलाई आफ्‌नो निर्वाचन क्षेत्रका जनताले जिताउने बताउनुभयो ।

यसैगरी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा २ बाट नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडीले उम्मेदवारी दिनुभएको छ ।
मंगलवार निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावकमा गोविन्द गुरुङ र समर्थकमा किशोरजंग थापा छन् ।

प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट मिलन गुरुङ (चक्रे मिलन) ले उम्मेदवारी दिनुभएको छ । नेकपा एमालेबाट गुरुङले उम्मेदवारी दिएका हुन् । मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रस्तावकमा प्रेम गुरुङ छन् भने समर्थकमा बाबुराम थापा छन् ।

निर्वाचन क्षेत्र नम्बर २ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले उम्मेदवार दर्ता गराउनुभएको छ । प्रस्तावकमा हरिश्चन्द्र आचार्य र समर्थक सुक बहादुर तामाङ रहेका छन् ।

यसै गरी गोरखा निर्वाचन क्षेत्र नम्बर १ का लागि आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका आरसी लामिछानेले गोरखा १ बाट उम्मेदवारी दिनुभएको छ ।

मंगलवार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रस्तावकमा सुजन सिंखडा छन् भने समर्थकमा काजिराम रोका छन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा १ बाट नेपाली कांग्रेसका प्रेम खत्रीले उम्मेदवारी दिनुभएको छ । मंगलवार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रस्तावकमा नारायण लामिछाने र समर्थकममा लुमनाथ लामिछाने छन् ।

आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का हरिराज अधिकारीले उम्मेदवारको मनोनयन दर्ता गराउनुभएको छ ।

अधिकारी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठलाई अधिकारीले ३ हजार २१७ मतले पराजित गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुधन गुरुङले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here