गाेरखा । दशैँ नजिकिदै गर्दा उत्तरी गाेरखामा खाद्यन्न अभाव भएकाे छ । चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थित लाेक्पामा गएकाे पहिरो पन्छ्याउन नसक्दा चुम्चेत र छेकम्पारका वासिन्दालाई चामललगायत दैनिक उपभोग्य सामग्री अभाव भएकाे हाे ।
डुयुखोला र सर्दीभीरको बीचमा गत असारदेखि निरन्तर पहिराे झरिरहेकाे छ । आठसय मिटर लामाे पहिराे छिचाेलेर आउजाउ गर्न सक्ने अवस्था नभएकाे वडा नम्बर ६ का वडा अध्यक्ष सराेज लामाले बताए ।
मान्छे हिड्ने अवस्था छैन , समाान बाेक्ने एकमात्र सवारी साधन खच्चड हाे तर हिडाउन सक्ने अवस्था नभएकाे अध्यक्ष लामाकाे भनाइ छ ।
जेठ महिनामा भण्डारण गरिएकाे खाद्यन्न सामाग्री सकिएकाे र दशैँका समयमा भाेकै बस्नुपर्ने अवस्था आएकाे स्थानीय छिरिम लामाले बताउनुभयाे ।
सिर्दिवास स्थित न्याकफेदीकाे पुल तरेपछि एक घण्टाकाे पैदल यात्रामा लाेक्पा पहिराे पुग्न सकिन्छ । याे बाटाे भएर चुमनुव्रीका वडा नम्बर ६ र ७ का करिव छसय घरधुरीका मानिसहरु आवतजावत गर्दछन् ।
दशैँकाे समयमा पालिका भित्रका दुइवटा वडामा समस्या देखिएपछि चामल ढुवानीका लागि पहल गर्न आफू काठमाण्डाै पुगेकाे चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।
सबैलाइ दशैँ लागेकाे छ, चुमनुव्री भित्रका नागरिकहरुलाइ राज्यले चामल पुर्याउने व्यवस्था गर्नुपर्छ । म यसका लागि पहल गरिरहेकाे छु , उनले भने । पालिकाकाे स्राेतसाधनलाइ आफूले यस अघि देखिनै परिचालन गरिरहेकाे तर ठूलाे जनसँख्यालाइ पुर्याउन नसकेकाे बताए ।
उक्त स्थानका लागि अघिल्लाे साल पनि पहिराेका कारण सेनाकाे हेलिकप्टरबाट खाद्यन्न ढुवानी भएकाे थियाे । याे वर्ष समयमै खाद्यन्न पुर्याउन नसके भाेकमरी सुरु हुने भएकाेले समयमै सचेत भइ खाद्यन्न पुर्याउनुकाे विकल्प नभएकाे उनकाे भनाइ छ । चुम्चेत र छेकम्पारमा चामल, नुन, तेल, घ्यु, मसालजन्य वस्तु आदीकाे अभाव रहेकाे अध्यक्ष लामाकाे भनाइ छ
।