Home Breaking News रामशाहघाटमा हरिवोधिनी एकादशीका अवसरमा विशेष धार्मिक कार्यक्रम हुने

रामशाहघाटमा हरिवोधिनी एकादशीका अवसरमा विशेष धार्मिक कार्यक्रम हुने

बुधबार, कार्तिक १६, २०७९
0
143

कात्तिक १६, गोरखा ।  प्रसिद्ध धार्मिक स्थल रामशाहघाटमा हरिवोधिनी एकादशीका अवसरमा विशेष धार्मिक कार्यक्रम हुने भएको छ ।

कात्तिक १७ गते साँझ सत्यनारायण पूजा सहित जाग्राम र १८ गते बिहान मस्र्याङ्दी नदिको दुई किनारमा फूलको तोरण टाँग्ने कार्यक्रम गर्न लागिएको हो ।

रामशाहघाट क्षेत्रको संरक्षण र प्रवद्र्धनमा सक्रिय स्थानीय दरौंदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिको आयोजनामा धार्मिक कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष प्रकाश अधिकारीले बताए ।

सो क्षेत्रमा वर्षेनी हुँदै आएको एकादशी मेलाले झण्डै डेढ दशकदेखि निरन्तरता पाउन सकेको थिएन । यो पटकदेखि हरेक वर्षको हरिवोधिनी एकादशी पर्वको अवसरमा धार्मिक मेला गर्ने अठोट गरिएको उनको भनाई छ ।

गोरखा नगरपालीका १३ स्थित दरौंदी र मस्र्याङ्दी दोभानमा रहेको सो धार्मिक स्थलमा संरचना निर्माण लगायत कामका लागि पनि स्थानीयले पहल थालेका हुन् । ऐतिहासिक, धार्मिक र पर्यटकीय रुपले महत्वपूर्ण भएर पनि सो क्षेत्र ओझेलमा पर्दै आएको थियो ।

उचित संरक्षण नहुँदा यसअघि निर्माण भएका मठमन्दिर लगायतका संरचना जीर्ण बन्दै गएपछि त्यसको संरक्षणका लागि दरौंदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिमार्फत पहल थालिएको हो ।

विस्तृत गुरुयोजना सहित रामशाहघाट क्षेत्रको संरक्षण र पूर्वाधार निर्माण गर्न थालिएको दरौंदी मस्र्याङ्दी दोभान वातावरण संरक्षण समितिका पूर्व अध्यक्ष गोविन्दमान श्रेष्ठले बताउनुभयो । धार्मिक स्थल संरक्षणको काममा आर्थिक अभाव भएपछि अर्थ संकलनकै लागि २०७४ सालमा महायज्ञ गरिएको थियो ।

 

 

 

NO COMMENTS