गाेरखा । जिल्लाकाे चुमनुब्री गाउँपालिकाकाे प्रशासनिक भवन निर्माणका लागि जग्गा दिने निर्णय मन्त्रीपरिषदकाे बैठकले गरेकाे छ । चीनसँग सीमा जोडिएको चुमनुब्री गाउँपालिकाको भवन बनाउन सरकारले जग्गा उपलब्ध गराउने निर्णय गरेको हाे। पछिल्लो मन्त्रिपरिषद्को बैठक गाउँपालिकाको भवन बनाउन चुमनुब्री गाउँपालिकास्थित सिर्दीबासको जग्गा उपलब्ध गराउने निर्णय गरेको हो।
जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा कार्यालय, साविक सिर्दिवास ८ मा रहेको चार रोपनी ६ आना २ पैसा २ दाम क्षेत्रफल जग्गा चुमनुब्रीको प्रशासकीय भवन बनाउन दिने निर्णय भएको माओवादी नेता हरीराज अधिकारीले बताए ।
२०७३ देखि गाउँपालिकाको कामकारबाही सिर्दीबासमै रहेको भाडाको घरबाट भइरहेको छ। चुमनुब्री गाउँपालिकाकाे प्रशासनिक भवन निर्माणका लागि पूर्व साँसद समेत रहेका अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउन आग्रह गर्दै आएका थिए ।
‘जग्गा प्राप्तिका लागि हामीले सबै क्षेत्रसँग समन्वय गरेका थियौँ। बल्ल अहिले निर्णय भएकाे जानकारी भयाे,’ चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले भने । पूर्व साँसद हरीराज अधिकारीले सँसदिय निर्वाचन अघि नै भनेकाे बाचा पुरा भएकाे उनले बताए । प्राप्त भएकाे जग्गामा स्थानीय विकास पूर्वाधार केन्द्रबाट ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत रकम खर्च गरेर चुमनुब्री गाउँपालिकाको मौलिकता झल्कने भवन बनाउनेछु,लामाले भने ।
जिल्लामा रहेका ११ वटा गाउँपालिकामा गण्डकी गाउँपालिका हाल विद्यालयमा भवनबाट आफ्नाे दैनिक प्रशासनिक काम गरिरहेकाे छ । धार्चेकाे भवन निर्माणाधिन रहेकाे छ । अन्य पालिकाहरु भने कतिपय नयाँ भवनमा सरि सकेकाे छन त कतिपयकाे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ ।