Home शिक्षा बारपाक सुलिकाेटका स्थानीय तहका कर्मचारीद्वार निजामति सेवा दिवस वहिष्कार

बारपाक सुलिकाेटका स्थानीय तहका कर्मचारीद्वार निजामति सेवा दिवस वहिष्कार

शनिबार, भदौ २३, २०८०
0
147

गोरखा ।  जिल्लाकाे वारपाक सुलिकोट सहित विभिन्न स्थानीय तहका कर्मचारीहरुले निजामती सेवा दिवस बहिष्कार गरेका छन् । संघका कर्मचारीलाई जस्तै समान ब्यवहार नगरिएको उनीहरुले दिवस बहिष्कार गरेका हुन् ।

संघीय निजामती ऐनलाई एकीकृत निजामती सेवा ऐनको रुपमा ल्याउनुपर्ने लगायतका माग गर्दै निजामती सेवा दिवस अन्तर्गत कुनै पनि कार्यक्रम नगरिएको वारपाक सुलिकोट गाऊँपालिकाका इन्जिनियर अभिनव गौतमले बताए ।

प्रस्तावित निजामती सेवा विधेयकमा स्थानीय तहका कर्मचारीलाई निजामती सेवाको परिभाषामा नसमेटेको र सेवा सुविधा तथा वृद्धि विकासको सुनिश्चितता नभएको भन्दै दिवस बहिष्कारसँगै हातमा कालोपट्टी बाँधेर काम गरिएको उनले जानकारी दिए ।

बिहीबारको मन्त्रिपरिषद बैठकले ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०’ लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको थियो । विभेदयुक्त व्यवस्था सहितको विधेयक संशोधनको माग गर्दै स्थानीय तहका कर्मचारीहरुले  निजामती सेवा दिवस नमनाएर बहिष्कार गरेका हुन् ।

वारपाक सुलिकोट गाऊँपालिकामा कार्यरत स्थानीय सेवामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै तीनै तहमा कार्यरत कर्मचारीहरुको सरुवा प्रणाली २१ औं शताब्दी अनुकुल अनुमानयोग्य तथा चक्रीय प्रणालीमा हुनुपर्ने माग गरेका छन् ।

संघीय ऐनले नै अन्तरप्रदेश सरुवाको बाटो खोल्नुपर्ने, निजामती अस्पतालमा सबै कर्मचारी र उनीहरुका परिवारलाई उपचार सुविधा दिनुपर्ने, सरुवा चक्रीय प्रणालीमा व्यवस्थापन गर्नुपर्ने र स्थानीय तहका पुरानै कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत हुन पाउने व्यवस्था गर्नुपर्ने लगायतका माग स्थानीय सेवाका कर्मचारीहरुको रहेको छ ।

स्थानीय तहका लागि नियुक्त छैटौं तहका कर्मचारीको कार्य अनुभव उपसचिव र सहसचिवका लागि गणना हुनुपर्ने वा नियुक्ति मितिदेखि सातौं तह कायम गरिनुपर्ने, योगदानमा आधारित निवृत्तिभरण सम्बन्धी ब्यवस्था तीनै तहको एकिकृत निवृत्तिभरण कोषबाट हुनुपर्ने लगायतका माग स्थानीय सेवाका कर्मचारीहरुले राखेका छन् ।

आफ्ना मागबारे सम्बन्धित पालिकाका जनप्रतिनिधि र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पनि जानकारी गराइएको वारपाक सुलिकोट गाऊँपालिकाका इन्जिनियर अभिनव गौतमले बताए ।

उनीहरुले आफ्ना माग राखिरहँदा बारपाक सुलिकाेट गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट र उपाध्यक्ष सनमाया गुरुङ ध्यानपुर्वक सुनिरहेका थिए ।

NO COMMENTS