जिल्ला प्रशासन कार्यालय गोरखामा विद्युतीय माध्यमबाट गुनासो गर्न सकिने

शनिबार, भदौ २३, २०८०
0
153

जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको सुरुवात गरेको छ ।

२० औं निजामति सेवा दिवसको अवसर पारेर शुक्रवारबाट विद्युतीय गुनासो पेटिकाको सुरुवात गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।

सूचना प्रविधीको बिकाससँगै ई गभर्नेन्सको माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन सहयोग पुग्ने उनकाे विश्वास छ ।

जिल्ला प्रशासन कार्यालयले बेभसाइट, इमेल, फेसबुक, ट्वीटर जस्ता विद्युतीय सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत यसअघिनै सेवाग्राहीको सुझाव र गुनासाबारे जानकारी लिँदै आएको थियो ।

यसका अतिरिक्त विद्युतीय गुनासो पेटिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राही तथा सरोकारवालाहरुलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज हुने प्रशासन कार्यालयको विश्वास छ ।

गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालय सहित जिल्लाका अन्य सरकारी तथा अर्ध सरकारी निकायहरुबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिए ।

क्यू आर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरि विद्युतीय गुनासो पेटिकाको ब्यवस्था गरिएको हो । कार्यालयको वेवसाईट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको क्यू आर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ ।

उक्त पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी भुसालको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here