Home Breaking News संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा मनकामना मन्दिर परिसर सरसफाइ

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा मनकामना मन्दिर परिसर सरसफाइ

बुधबार, असाेज २४, २०८०
0
108

गोरखा, २४ असोज  । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज विहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरकाे सरसफाई गरिएको छ । मनकामना मन्दिरको सरसफाईमा सहभागी हुन उनी मंगलबार साँझ गोरखा आएका थिए ।

मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको हो । मन्दिर सरसफाई कार्यक्रममा मन्त्री किराँती सहित मनकामना क्षेत्रका स्थानीयबासीहरु, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागीता रहेको नेकपा माओवादी केन्द्र गोरखा जिल्लाका संयोजक दीपक तिमल्सिनाले जानकारी दिए ।

मन्दिर सरसफाई कार्यक्रममा प्रतिनिधिसभाका सांसद उर्मिला माझी, सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, सहिद लखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी लगायतको पनि सहभागिता रहेको थियो ।

मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास भएकाले यहाँ भक्तजनको वर्षभरी नै भिड लाग्ने गर्दछ । मन्दिरमा भाकल चढाउन मन्दिरमा हजारौं भक्तजनहरु पूजा गर्न, बली चढाउन, परेवा उडाउन वर्षेनी यहाँ पुग्ने गर्दछन् ।

गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात रहेको पाइन्छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने जनविश्वास छ ।

मनकामना मन्दिरमा पर्यटकहरु समेत केबलकार चढेर यस पवित्र मन्दिरको दर्शन र त्यस क्षेत्रबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि १ हजार ३०३ मिटरको उचाईमा अवस्थित यो मन्दिरको परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपुर्ण हिमाल र मनास्लु हिमालका चुचुराहरु देख्न सकिन्छ ।

मन्दिरकाे दर्शनका लागि वर्षाेनी १५ लाख भन्दा धेरै भक्तजनहरु आउने गर्दछन् ।

NO COMMENTS