Home Breaking News मङ्सिर १७ गतेदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक हुने

मङ्सिर १७ गतेदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान इन्फोटेक हुने

बिहिबार, मंसिर १२, २०८२
0
128

पोखरा । पोखरामा यही मङ्सिर १७ देखि नेपाल मणिपाल अस्पताल ३४ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औँ क्यान इन्फोटेक–२०८२ हुने भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र, नयाँ बजारमा ६ दिन उक्त मेला हुने भएको आज (मङ्गलवार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

जेनजी आन्दोलन पछि प्रभावित भएको पोखरा क्षेत्रको उद्योग व्यवसायलाई थप प्रभावकारी र चलायमान बनाउन यस वर्ष पनि उक्त मेला आयोजना गरिएको सङ्घका अध्यक्ष तथा मेलाका संयोजक गोकर्ण कार्कीले बताउनु भयो । महोत्सवमा डोम तर्फ ७८ सहित करिब १ सय २० वटा मात्र विभिन्न व्यवसायीक तथा व्यापारिक एवं सेवामूलक तथा सूचनामूलक स्टलहरू रहने भएको उहाँले जनाउनु भयो । पोखरा पर्यटनको राजधानी भएकोले उहाँको पर्यटन क्षेत्र चलायमान नहुँदासम्म यहाँको आर्थिक गतिविधि प्राय ठप्प जस्तै हुने कार्कीले जनाउनु भयो ।

यो वर्षको मेलामा पोखराकै प्रतिष्ठित नेपाल मणिपाल शिक्षण अस्पताल मुख्य प्रायोजकको रूपमा आबद्ध भएको छ । मेलामा औद्योगिक उत्पादन, कृषि–कृषिजन्य सामग्री, हस्तकला, सूचना–प्रविधि उपकरण, घरायसी तथा दैनिक उपभोग्य सामग्रीको प्रदर्शनी–बिक्री हुनेछ । क्यान इन्फोटेक समाहित भएकाले नवीनतम डिजिटल प्रविधि, सफ्टवेयर, ग्याजेट र नवप्रवर्तनका सामग्री मुख्य आकर्षण हुनेछन्।

गण्डकी क्षेत्रका परम्परागत कला–संस्कृतिलाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले यसपटक मेलामा स्थानीय सांस्कृतिक प्रस्तुति समावेश गरिएको बरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बताउनु भयो । प्रवेश निःशुल्क रहने मेला अन्तर्गत विभिन्न विषयमा परिसंवाद, लगानी मैत्री नीतिबारे छलफल, उद्यमशीलता तथा नवप्रवर्तनसम्बन्धी कार्यक्रम पनि हुने भएको छ । उक्त मेलाबाट करिब ५० लाख रुपैयाँ आम्दानी र ४५ लाख खर्च हुने अनुमान गरिएको छ ।

पोखरा महानगरपालिकाले प्रदर्शनी केन्द्रभित्र अपसाइक्लिङ तथा रि–साइक्लिङ पूर्वाधार निर्माण गरिरहेको हुँदा प्रदर्शनी स्थल केही सङ्कुचित बनेको र यही कारण मेलाको अवधि र स्टल सङ्ख्या घटाइएको महासचिव शोभा गौतमले बताउनु भयो । निर्माण सम्पन्न भई प्रदर्शनी केन्द्रको व्यवस्थापन पुनः सङ्घलाई प्राप्त भएपछि आगामी वर्ष स्टल सङ्ख्या तथा अवधिमा वृद्धि हुने उहाँले बताउनु भयो ।

मेलामा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ क्यान–कास्की सह–आयोजकका रूपमा रहनेछ भने गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा नेपाल पर्यटन बोर्ड (गण्डकी) प्रवर्द्धकका भूमिकामा रहनेछ ।

NO COMMENTS