गजल

शनिबार, असाेज ३, २०७७
0
180

बेचविखन, व्यापार स्यापार नदेखेको
म मा जमिन छ कालो बजार नदेखेको

कुनै महलको तस्बिर चौतारीमा राख
मेरो गाउँ छ श्रृङ्गार पटार नदेखेको

कोट लाउँदा चुलो निभ्यो गल्ती भयो
आजै हो मैले घर व्यवहार नदेखेको

यति कुरूप हुदैन थियो सुन्दर बन्थ्यो
यो साँचो हो फलामले लोहार नदेखेको

को बदमास हो कसले छाती छेडेको हो
धेरै भो डुङ्गाले पल्लो किनार नदेखेको

आँखै अगाडी सेती बग्छ म अझै प्यासी छु
जस्तो कि बानियाँ छ बानियाँटार नदेखेको

चमक अलि बढ्ता भयो यो राम्रो होइन
दिवारमा ऐना छ किन दिवार नदेखेको

कतिन्जेल बस्छ अर्काको शहरमा हेर्छु
हरिद्वार पुगेर हो घरको द्वार नदेखेको

मेरो राजा भन्दै पालेको बच्चा ठूलो भयो
त्यहि बच्चा हो श्रवणकुमार नदेखेको

शब्दहरु जिस्किँदैछन् सायद हुन सक्छ
मै जस्तो बौलाहा गजलकार नदेखेको

“सलामी” परिचय देऊ चिनजान गर
यो बजार हो अनपढ गवार नदेखेको

विपिन सलामि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here