नेकपा माओवादी केन्द्रका सात प्रदेशमा काे काे भए इञ्चार्ज ?

आइतवार, भदौ ६, २०७८
0
347

काठमाडौं। नेकपा माओवादी केन्द्रले सबै कम्युनिष्टसँग एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले कम्युनिष्टहरुसँगको एकता र ध्रुवीकरणका लागि पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

‘आजको आवश्यकता भनेको कम्युनिष्ट आन्दोलनलाई समाजवाद निर्माणतर्फ लाग्नु नै हो,’ उनले भने, ‘आजको बैठकले पनि सबै क्रान्तिकारी कम्युनिष्टलाई एकै ठाउँमा ल्याउन पहल गर्ने निर्णय गरेको छ।’ श्रेष्ठले माओवादी केन्द्रले नेपालका सबै कम्युनिष्टलाई एक बनाउन बहस सुरु गर्ने पनि बताए।

त्यस्तै, बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ। ‘बैठकबाट जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ,’ श्रेष्ठले भने, ‘सबै केन्द्रीय सदस्यको जिम्मेवारी तोक्ने काम भएका छन्।’

उनले केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको बताए। केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिएको पनि श्रेष्ठले जानकारी दिए।

बैठकले ७ वटै प्रदेशको नेतृत्वको कार्यविभाजन गरेको छ। आजै सर्कुलर जारी हुने गरी कार्यविभाजन गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए। माओवादी केन्द्रका ७ वटै प्रदेशको नेतृत्व यस्तो रहेको छः

प्रदेश नं. २ मा स्थायी कमिटी सदस्य गणेश शाह इन्चार्ज तोकिएका छन्। बागमती प्रदेशमा हितमान शाक्यले इन्चार्जको जिम्मेवारी पाएका छन्। गण्डकी प्रदेशमा हितराज पाण्डे इन्चार्ज भएका छन्।

त्यस्तै, लुम्बिनी प्रदेशमा चक्रपाणि खनाल, कर्णाली प्रदेशमा शक्ति बस्नेत इन्चार्ज तोकिएका छन्। सुदूरपश्चिम प्रदेमा खगराज भट्ट इन्चार्ज तोकिएका छन्। प्रदेश नं. १मा भने सुरेन्द्र कार्की र सावित्री काफ्ले मध्य कसलाई इन्चार्ज बनाउने टुंगिएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here