गोरखा ताक्लुङकी डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन

शनिबार, जेष्ठ १४, २०७९
0
415

मेरिकाको न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले सामाजिक अभियन्ता गोरखा ताक्लुङकी डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन गरेका छन् । परियारसहित २८ जनालाई गभर्नर फिलले मनोनयन गरेका हुन् । यसरी आयोगमा मनोनीत हुने डा. परियार एक मात्र नेपाली रहेको बताइएको छ ।

मर्फीले सन् २०२१ को नोभेम्बरमा एएपीआई आयोगको स्थापना गरेका थिए । मे महिनालाई एएपीआई सम्पदा महिनाको रूपमा मनाइने र यसै अवसरमा विभिन्न व्यक्तिलाई मनोनयन गरिएको हो । यो आयोगले उक्त राज्यमा एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर समुदायको सामाजिक र आर्थिक हक हितको निम्ति नीति निर्माण गर्ने जिम्मेवारी पाएको परियारले बताइन् । उनकाअनुसार गभर्नर र राज्य सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने जिम्मेवारी पनि यसलाई दिइएको छ ।

विभिन्न व्यक्तिलाई मनोनयन गर्दै गभर्नर मर्फीले एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डरहरूको जनसंख्या न्युजर्सी राज्यमा अमेरिका भरमा तेस्रो ठूलो संख्या रहेको बताए । यसैकारण राज्यको विविधतामा एएपीआई समुदायको मुख्य भूमिका रहेको उनको भनाइ थियो । जर्सी सिटी सहरको नगर प्रमुख स्टिभन फुलपको विविधता र समावेशी समितिकी पूर्वसल्लाहकारसमेत भइसकेकी डा. परियार हाल जर्सीसिटी सहरको महिला सल्लाहकार तथा रोजगारी र तालिम समितिको सदस्य छिन् । जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा परिषद् सभापति जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा भएको थियो ।

डा. परियार हाल अमेरिकाको न्युजर्सी राज्यको जर्सी सिटीस्थित केयरपोइन्ट हेल्थअन्तर्गत हड्सन स्पिककी वरिष्ठ कार्यक्रम संयोजकको रूपमा कार्यरत छिन्। हड्सन स्पिक न्युजर्र्सी राज्यको हड्सन काउन्टीमा यौन हिंसाविरुद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो । जर्सी सिटी सहरको नेपालका लागि भगिनी सम्बन्धका लागि इमिसरी (विशेषदूत) डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी सहर र नेपालको इन्द्रावती गाउँपालिका बीच भगिनी सम्बन्ध कायमसमेत गरिएको थियो। सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी सिटीको सिटी भवनमा नेपालको झन्डा फहराइएको थियो ।

डा. परियारको जीवन कहानी विश्वव्यापी कलेज पाठ्यपुस्तकमा प्रकाशित छ । विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राइट होफ्नरद्वारा लिखित ‘दि राइटर्स माइन्डसेटु पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशित छ । उनको यो पाठ्यपुस्तकमा समावेश भएको कहानी यसअघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो वेबसाइटमा पनि प्रकाशन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here